`

नेपालमा २६ वटा सामाजिक सञ्जाल निष्क्रिय हुने, यस्तो छ प्राधिकरणको पत्र

Nepal One HD १९ भदौ २०८२ १८:२१
विज्ञान-प्रविधि

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत भएका पाँच र दर्ता प्रक्रियामा रहेका २ बाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने निर्णय गरे पनि प्राधिकरणले २६ वटालाई मात्र निष्क्रिय बनाउने भएको हो ।

मन्त्रालयको निर्णयपछि मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले बिहीबार नै पत्राचार गरी निष्क्रिय पार्न निर्देशन दिएको छ । २६ सामाजिक सञ्जालहरुमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन् ।

यद्यपि नेपालमा प्राधिकरणले तोकेभन्दा धेरै संख्यामा सामाजिक सञ्जाल एपहरु प्रयोग भइरहेका छन् । सर्वोच्च अदालतले दिएको आदेशमा टेकेर सरकारले गत ९ गते कम्पनीहरुलाई मन्त्रालयमा सूचीकरण हुन सात दिनको म्याद दिएको थियो । तर कुनै पनि सूचीकरणमा नआएपछि बिहीबार यस्तो निर्णय गरिएको हो ।

हाम्रो पात्रोले दियो दर्ताका लागि निवेदन, मेटालाई पठाइयो सूचीकरणको सूची
सरकारले नेपालमा दर्ता नभएका कारण निष्क्रिय पार्ने सूचीमा समावेश ‘हाम्रो पात्रो’ प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा आजै निवेदन दिएको छ । सरकारले फेसबुक कम्पनी मेटाको आग्रह बमोजिम दर्ताका लागि आवश्यक विवरणको लिष्ट समेत पठाएको छ । सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार हाम्रो पात्रो प्लेटफर्मका तर्फबाट आजै सूचीकरणका लागि निवेदन दर्ता भएको हो ।

त्यस्तै मेटाका प्रतिनिधिले मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजातको बारेमा अनौपचारिक जानकारी मागेको बताइएको छ । मन्त्रायका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाको ठेगानामा नेपालको कानूनबमोजिम दर्ताका लागि आवश्यक विवरणको सूची पठाएका छन् । सरकारले आजैबाट फेसबुक, हाम्रो पात्रो समेत २६ प्लेटफर्म दर्ता नभएसम्म निष्क्रिय नबाउन दूरसन्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *