श्रम र उत्पादन प्रेरित गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ : एमाले प्रचार विभाग


पाटन (ललितपुर), २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीलाई बहुमतमा पुर्याउने गरी राजनीतिक प्रतिवेदन प्रस्तुत भएको बताउनुभएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरूका बारेमा जानकारी दिनुहुँदै विभाग प्रमुख गौतमले अध्यक्षले प्रस्तुत गर्नुभएको ९१ पेजको राजनीति प्रतिवेदनमा परिपूर्ण लोकतन्त्रलाई आधार बनाएर गौरवशाली इतिहास र आशापूर्ण वर्तमानको व्याख्या गर्दै उत्पादन पद्धतिमा आएको फेरबदललाई समेत विश्लेषण गरिएको बताउनुभयो ।
“प्रतिवेदनमा क्षणिक असन्तुष्टि र आवेगलाई समातेर लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले दीर्घकालीन सोचका साथ राष्ट्रिय नेतृत्व गर्न सक्दैनन् भन्ने विषय समेटिएको छ, श्रम र उत्पादनप्रति प्रेरित गर्ने, उद्यमबिनाको आय, श्रमबिनाको उपलब्धिलाई निरुत्साहित गर्ने सोेच राखिएको छ, नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गरिएको छ, नेपालको भूराजनीतिक प्रभाव, अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका बारेमा चर्चा गरिएको छ”, उहाँले भन्नुभयो ।
प्रमुख गौतमले नेपालले स्वतन्त्र राष्ट्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने विषय उल्लेख गरिएको छ भन्नुभयो । “पहिलो पार्टी निर्माण र दोस्रो देशको निर्माणको विषयलाई समेटिएको छ, समृद्ध नेपाल, सुखी नेपालीलाई कार्यान्वयन गर्ने व्याख्या प्रतिवेदनमा समेटिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले क्षेत्रीय पार्टीले राष्ट्रिय सोचका आधारमा चल्न सक्दैनन् भन्ने तर्क गर्नुभयो । “नयाँ भनिएका दलहरूको कुनै कार्यक्रम, स्थापित नीति, सिद्धान्त छैन लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले निराशा मात्रै बटुल्ने काम गरे, यिनीहरूको दीर्घकालीन नीति छैन, राष्ट्रलाई सुशासन दिन नेतृत्व दिन सक्दैनन्, उनीहरू एउटा सीमाभित्र मात्र केन्द्रित छन्”, उहाँले भन्नुभयो ।
प्रमुख गौतमले राजनीतिक प्रतिवेदनमा सिङ्गै कम्युनिष्ट आन्दोलनको समीक्षा र कमजोरीका बारेमा समीक्षा गरिएको जानकारी गराउँदै नेपाली विशेषतासहितको समाजवाद र कार्यक्रमको व्याख्या गरिएको उल्लेख गर्नुभयो ।