जापानमा कुल जनसङ्ख्याको करिब ३० प्रतिशत वृद्धवृद्धा


जापानको कुल जनसङ्ख्याको २९.४ प्रतिशत ६५ वर्ष र त्योभन्दा माथिका वृद्धवृद्धा रहेको आधिकारिक तथ्याङ्कले आइतबार देखाएको छ ।जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सेप्टेम्बर १५ सम्ममा वृद्धवृद्धाको सङ्ख्या तीन करोड ६० ललाख १९ हजार हुने अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार जापानमा वृद्ध पुरुषको सङ्ख्या एक करोड ५६ लाख र वृद्ध महिला दुई करोड ५१ लाख छन् । यसरी हेर्दा वृद्ध महिलाको सङ्ख्या वृद्ध पुरुषभन्दा ४८ लाख ३० हजारले बढी छ ।
मन्त्रालयले कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकहरूको हिस्सा ०.१ प्रतिशत बिन्दुले बढेर अहिलेसम्मकै उच्च २९.४ प्रतिशत हुने जनाएको छ । मन्त्रालयको श्रम शक्ति सर्वेक्षणका अनुसार गत वर्ष ९३ लाख ज्येष्ठ नागरिकहरू रोजगार रहेको देखिएको थियो । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा एक लाख ६० हजारले वृद्धि हो र यो दर उच्च हो।
जापानमा ६५ वर्ष र त्योभन्दा बढी उमेरका व्यक्तिहरूको रोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेर २५.७ प्रतिशत पुगेको छ।यो दर ६५ देखि ६९ वर्ष उमेर समूहका लागि ५३.६ प्रतिशत, ७० देखि ७४ वर्षका लागि ३५.१ प्रतिशत र ७५ वर्ष र माथिका व्यक्तिहरूको १२.० प्रतिशत रहेको छ।
मन्त्रालयले यस प्रवृत्तिका लागि श्रम अभाव र विस्तारित सेवानिवृत्ति उमेरलाई जिम्मेवार ठहराएको छ । यहाँ वृद्ध व्यक्तिहरूको सक्रिय रहनको लागि अवसरहरू विस्तार भइरहेको छ र काम गर्ने वरिष्ठहरूको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको छ।