`

युवाहरूले धैर्य गरेको भए एमालेले नै उनीहरूको आकांक्षा पूरा गर्थ्याे : शंकर पोखरेल

Nepal One HD ३० भदौ २०८२ १७:१७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन् । गत भदौ २४ गते जेन–जी प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई संवोधन गर्न पार्टीले रोडम्याप समेत बनाइ सकेको बताएका हुन् ।

‘यहाँहरूलाई थाहा छ हामीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल गरिकन निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार पारेका थियौं । युवाहरूले धैर्यता गर्नु भएको भए, नेकपा एमालेले नै उहाँहरूका उहाँहरूका चाहना, आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले अगाडि आउँदै थियो । हामीले त्यस प्रकारका योजनाहरू, संकल्पहरू तयार गरेका थियौं,’ उनले भने ।

तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद् घटना घटेको उनले बताए । महासचिव पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नु पर्ने बताएका छन् ।

‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो । शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ । नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने ।

सधैंभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए । ‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन । समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ । महासचिव पोखरेलले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले) को पार्टी कार्यालयसहित नेता–कार्यकर्ताहरूको भौतिक सम्पत्तिमा क्षति पुर्‍याइएको बताए । उनले विध्वंशात्मक प्रदर्शनले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *