`

अब नयाँ पुस्तासँग एकाकार भएको पार्टी स्थापित गर्ने जिम्मेवारी आयो : विष्णु पौडेल

Nepal One HD ३ असोज २०८२ १३:१८
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले विगतमा आफ्ना तर्फबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार सन्देश जारी गर्दै उनले जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू भएको स्वीकार गरेका छन् ।

तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय भएको उनको भनाइ छ । ’जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्,’ सन्देशमा उनले भनेका छन्, ’तर आन्दोलनका क्रममा भएको हत्या– हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । विगतमा नेकपा (एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु ।’

अब भने पार्टीलाई नयाँ पुस्तासँग एकाकार गर्दै युवाको निर्णायक योगदानसहित गतिशील र परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्ने जिम्मेवारी आएको उनले स्पष्ट पारेका छन् । ‘अब हाम्रो सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

पौडेलले हालैको जेनजी आन्दोलनमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरे ।

साथै क्षतिग्रस्त संरचनाहरूको यथाशीघ्र पुनर्निर्माणको आवश्यकता उनले औंल्याएका छन् । ’जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानून बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु,’ सन्देशमा भनिएको छ । संविधान दिवसको अवसरमा उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीको योगदान जरुरी रहेको भन्दै आपसी सद्भाव, एकता र सामाजिक न्यायसहित समृद्धिको बाटोमा अघि बढ्न उनले आह्वान गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *