`

‘हरित अर्थतन्त्र’ यात्रा सुरु, तेलमा निर्भरता घटाउने लक्ष्य

Nepal One HD ५ असोज २०८२ १४:३३
विश्व

इराक ।  इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले शनिबार देशको दीर्घकालीन आर्थिक समृद्धिका लागि तयार पारिएको ‘इराक विकास तथा भविष्यको दृष्टिकोण २०५०’ सार्वजनिक गरेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री सुदानीले वर्तमान विश्व परिवेशमा इन्धनमा मात्र निर्भर रहँदा दीगो प्रगति सम्भव नभएको उल्लेख गर्दै, इराकले अब आर्थिक विविधीकरणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उक्त कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्तित्व, कूटनीतिक प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, विश्वविद्यालय, नागरिक समाजका सदस्य र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विकास दृष्टिकोणले इराकको अर्थतन्त्रलाई विविधीकरण गर्दै तेलमा निर्भरता क्रमशः घटाउने र संरचनागत सुधारमार्फत निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘अल–फाउ बन्दरगाह’ र ‘विकास मार्ग आयोजना’ जस्ता रणनीतिक योजनाहरूबाट इराकलाई एसिया र युरोपबीचको २० प्रतिशत व्यापारिक आवागमनको केन्द्र बनाउने लक्ष्य छ । यसमार्फत करिब १५ लाख रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

योजनाले खाद्यान्न, पानी र ऊर्जामा ७० प्रतिशत आत्मनिर्भरता हासिल गर्न हरित र दीगो उपायहरूलाई प्राथमिकता दिनेछ । साथै, यस योजनाका लागि विस्तृत कार्यान्वयन खाका चाँडै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने जनाइएको छ ।

प्रधानमन्त्री सुदानीले भने, “विश्वभर तीव्र रूपमा परिवर्तन भइरहेका प्रविधि र कृत्रिम बौद्धिकता ९एआई० का कारण नयाँ यथार्थहरू सिर्जना भइरहेका छन् । यस्तो परिस्थितिमा इराकले अब तेलमुक्त, स्थिर र समावेशी अर्थतन्त्र निर्माण गर्ने दिशामा स्पष्ट कदम चाल्नेछ ।”

उनले थप भने, “इराक दृष्टिकोण सन् २०५० एक साझा राष्ट्रिय योजना हो, जसमा राज्यका सबै निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र विशेषगरी युवाको सक्रिय सहभागिता रहनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *