विद्युतको ‘एमडी’ बाट हटाएर उर्जा आयोगमा थन्क्याइएका हितेन्द्रदेव अब के गर्छन् ?


काठमाडौं । मन्त्रिपरिषदको हिजोको बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) बाट हटाइएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा पुर्याइएको छ । सरकारले शाक्यको ठाउँमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणबाट अचानक हटाएपछि अब कसरी अघि बढ्ने भन्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटार जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । उनले सरकारले कसरी ‘ट्रिट’ गर्छ सोही आधारमा अघि बढ्ने बताएका छन् । ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । तर, प्रतिशोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु’, उनले भने । कसरी अगाडि बड्ने तयारी हो त्यो भने उनले प्रष्ट पारेका छैनन् ।
आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिना कारण सरुवा गरेको उनको गुनासो छ । ‘म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो’, उनले भने, ‘अब दशैँ मनाएपछि कसरी अघि बढ्ने सोचौँला।’ शाक्यको फेरि पुरानै नियति दोहोरिएको छ । उनी छोटो समयमै प्राधिकरणबाट लखेटिएका छन् । आफ्ना चीरप्रतिस्पर्धी कुलमान घिसिङ अचानक ऊर्जामन्त्री बनेपछि हितेन्द्रको पद संकटमा परिसकेको थियो । कुलमानले कुनै धैर्यता नराखिकन तत्कालै हितेन्द्रलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरिदिएका हुन् ।
हितेन्द्र कुलमानसँग मिलेर काम गर्ने मुडमा थिए । तर, कुलमानले आफू अनुकूलको कार्यकारी निर्देशक ल्याउन चाहे । फलतः हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा थान्को लगाइएको छ । हितेन्द्र यति धेरै निराशा सुनिएका छन् । उनी अहिले निरास सुनिनुमा प्राधिकरणको कार्यकारी निर्देशक पद गुमाउनु मात्र होइन । अर्को कारण हो उनको घर जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर ध्वस्त भएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हितेन्द्रको ज्वागलस्थित घरमा पनि आगो लगाइयो । त्यसबेला उनी देश बाहिर थिए । परिवारका सदस्यहरु घरमै भएको बेला आक्रमण भएको थियो ।
उक्त घटनापछि हितेन्द्रकी पत्नी ट्रमामा छिन् । हितेन्द्र शनिबार मात्र नेपाल आएका हुन् । घरको अवस्था देखेर स्तब्ध बनेका उनले आफ्नो फेसबुक प्रोफाइलमै जलेको घरको फोटो राखेका छन् । उनी तत्काल बासस्थानको व्यवस्थापन गर्नुपर्ने तनावमा छन् । शाक्यले भने, ‘घरमा सबै कुरा सखाप गरिएको छ । बस्नलायक नै छैन । म अहिले त थातथलोको खोजीमा छु ।’