`

भक्कानिँदै उद्योगमन्त्री सिन्हाले भने–जेनजी शहीद परिवारलाई रोजगारी दिलाउन पहल गर्छु

Nepal One HD ६ असोज २०८२ १७:४६
राजनीति

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । आज (सोमबार) मन्त्रालयमा पदभार सम्हाल्दै उनले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने बताएका छन् ।

उद्योगसँगै कानुुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले आफू कानुन क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको उल्लेख गरे। ‘जो अहिले सहादत प्राप्त गर्नु भएको छ, घाइते हुनुहुन्छ, उहाँहरुलाई देशमा भएका उद्योग, उद्यमीहरु जति हाल चलिरहेको छ या चलाईरहेको छ,’ मन्त्री सिन्हाले भने, ‘उहाँहरुलाई म आह्वान गर्न चाहन्छु, उहाँहरुको परिवार कसैलाई रोजगारी दिने । त्यो भएपछि केही हदसम्म पनि उहाँहरुलाई सान्त्वना हुन्छ की भन्ने जस्तो लागेको छ । त्यतातिर म एकचोटी छलफल गर्छु ।’

उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा पदभार ग्रहण गर्दै गर्दा भक्कानिएका थिए ।

उनी जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै भक्कानिएका हुन् । ‘अप्ठ्यारो परिस्थितिमा छौं हामी सबै । पूरै देश नै आक्रान्त भएर बसेको अवस्था छ । राजनीतिक स्थायित्व र जुन प्रयोजनका लागि आन्दोलन भएको थियो । सुशासनको अभाव, अवसरबाट वञ्चित लगायत चुनौतीहरूविरुद्ध जुन जेनजीको आन्दोलन भयो । अत्यन्तै दुःख लाग्छ । ७० जनाभन्दा बढिले ज्यान गुमाउनु भयो ।’ एकछिन भन्दै मुन्टो निहुराएर उनी भक्कानिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *