अध्यक्ष ओली गुण्डुमा सार्वजनिक, पार्टी नेताहरुसँग छलफल


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरस्थित गुण्डुमा पार्टीका नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् । २ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् ।
ओलीले ३ असोजदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेको महेश बस्नेतले जानकारी दिए । ओलीले त्यसयता पार्टीका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिसकेका छन् । त्यससँगै ओलीले कार्यकर्ताहरूसँग पनि छलफल गरेका छन् । महेश बस्नेतले सार्वजनिक गरेको भिडियोमा ओली पार्टीका कार्यकर्तासँग फोटो खिच्न व्यस्त छन् ।
जेन–जी आन्दोलन चर्किएपछि ओलीले गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । २३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए । ओली नेतृत्वको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।