जेन जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल, साहरा विहिन
काठमाडौं । बूढानीलकण्ठको एक घरमा भाडाको सानो कोठा । एउटा कुनामा भान्छा, अर्कोतिर कुनामा पलाङ्ग, पलङ्गसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्षअगाडि संसार छाडिसकेकी श्रीमतीसँगको तस्बिरहरू ।
आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका विद्यार्थी भाइहरूको माया र क्रुरतबाट रिस उठेपछि २४ गते आन्दोलनमा पुगेको उनी सुनाउँछन् । आफूसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा उनी पनि मिसिए ।

त्यही बेला चलेको गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो । उनी अचेत अवस्थामा पुगे । डेढ वर्ष अगाडि श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदूरी गरी कोठा भाडा र आफ्नो एकमात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादिक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक गुजारा चलाउन उनलाई गार्हो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सीयूमा थिए । २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको भन्दै हल्ला नै फैलिसकेको रहेछ ।
भाउजू संगिता परियारलगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन समेत भनेको संगीताले सुनाइन् ।

निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैँले नै फोन गरे र आफूलाई भर्खर आईसीयू बाट वार्डमा सारेको र अहिले ठिक भएको जानकारी दिए ।
चार दिने अस्पताल बसाइ पछि उनी भदौ २९ मा डिस्चार्ज भए ।
गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आईसीयू मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए उनलाई बचाउन असम्भव हुने डाक्टर अनिल भट्टराई बताउँछन् ।

‘हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो ‘, डा. भट्टराईले भने ।
भाउजू संगीता अहिले अनिलको हेरचाहमा खटिएकी छन् । उनको स्वास्थ्य सुधार हुँदै आएको छ । तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ । जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले घर चलाउने र छोराको पढाइ साथै पालनपोषणको ठूलो चिन्ता छ ।

अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् भनी उनी कामना गर्छन् ।
