जेनजी अगुवालाई बाबुराम भट्टराईले सुनाए ‘दासढुंगा प्रकरण’ जोडिएको घटना


काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी अगुवा र जेन–जी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन् ।
आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशूलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि देशमा जनआक्रोश पैदा भएका बेलाको घटना स्मरण गराएका हुन् । डा. भट्टराईले त्यसबेला भएको आन्दोलनपपछि आफू पनि सहभागी वार्तामा आन्दोलनकारीलाई कसरी झुक्याइयो भन्ने कुरा उल्लेख गरेका छन् ।
पढ्नुस् भट्टराईले सुनाएको कथाः
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो ।
एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कंदै गयो । निष्पक्ष छानबिन, दोषीलाई कारबाहीलगायतका मागहरू अतिरिक्त तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुपर्ने मुख्य मागहरू बने । सरकार टसमस भएन ।
महिनौँको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता गर्ने सहमति भयो । आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं । सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो । ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो ।
लामो रस्साकस्सीपछि अरू कुराहरूमा सहमति बन्दै गयो । तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्यो । हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो, ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ । म जिम्मा लिन्छु ।’
हामीले भन्यौं, ‘मिति तोक्नु पर्छ ।’
किसुनजीले भन्नुभयो, ‘लौ लौ, भदौ ३० गते ! मेरो वचन भयो ।’
मेरो मनमा शंका लाग्यो । किनकि म त्यतिबेला ३९ वर्षको जल्दोबल्दो थिएँ ।
मैले भनें, ‘किसुनजी, यसको एउटा लिखत गरौं न त !’
किसुनजीले बोल्नु अघि नै उहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो, ‘किसुनजी जस्तो सन्त नेताले भनेपछि भैगो नि ! उहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ ।’
म हिस्स परें ।
भदौ ३० गते आयो । प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नु भएन ।
बरु ‘सन्त नेता’ ले पो भन्नु भयो, ‘मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ ।’
सबै फासफुस भयो ।
यसको पाठ हो–राजनीति धेरै निर्मम हुन्छ । निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ । विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन–जी अभियन्ताहरूले पनि सिक्ने कि ?