`

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै ‘आक्रमण’ हुने चेतावनी, खतरनाक सहरहरूलाई सैन्य प्रशिक्षण मैदान बनाउन सुझाव

Nepal One HD १५ असोज २०८२ १८:५२
विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’ को सम्भावना रहेको चेतावनी दिनुभएको छ । यसलाई उहाँले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रुहरू पत्ता लगाउन कठिन हुन्छ ।

भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्र्स बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री सहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गर्नुभयो । उहाँले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी सहरहरूलाई सैन्य तथा नेसनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिनुभएको छ ।

“हाम्रा भित्री सहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक सहरहरूलाई हामीले हाम्रो सेना र नेसनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै शिकागो जाँदैछौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक–एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस—यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो”, उहाँले जोड दिनुभयो ।

यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गर्नुभएको थियो । उहाँले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताउनुभएको थियो ।

यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *