चीनद्वारा पानीमुनि ‘ऊर्जा–सक्षम’ डाटा सेन्टर परीक्षण


अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ ।
सहर नजिकैको घाटमा ठूलो पहेँलो रङको क्याप्सुल तयारीको अन्तिम चरणमा पुगेको देखिन्छ । यसलाई पानीमुनि राखेर वैकल्पिक प्रविधि परीक्षण गर्ने तयारी भइरहेको हो । विश्वभरका वेबसाइट र एपहरू सञ्चालनका लागि डाटा सेन्टरहरू अपरिहार्य भइसकेका छन् र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले तिनीहरूको माग झनै बढाइरहेको छ ।
“पानीमुनि सञ्चालनका आफ्नै फाइदा हुन्छन्”, समुद्री उपकरण निर्माण गर्ने कम्पनी हाइल्यान्डरका उपाध्यक्ष याङ येले भन्नुभयो । उहाँको कम्पनीले राज्य–स्वामित्वमा रहेका अन्य संस्थाहरूसँग मिलेर साङ्घाई परियोजनालाई अघि बढाइरहेको छ ।
भूमिगत सर्भरहरूलाई समुद्रको प्राकृतिक चिसो प्रवाहले स्वाभाविक रूपमा चिस्याउन सक्छ, जसका लागि सामान्य डाटा सेन्टरहरूले ऊर्जा–गहन वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ ।
यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डको तटमा यस्तै प्रविधि परीक्षण गरेको थियो । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना विश्वकै पहिलो व्यावसायिक स्तरको सेवा मानिनेछ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेको एआई कम्प्युटिङ कम्पनीजस्ता संस्थाहरूलाई सेवा पु¥याइनेछ । यसैसँगै, डाटा सेन्टरहरूको कार्बन उत्सर्जन घटाउन सरकारको बढ्दो दबाबलाई सम्बोधन गर्ने प्रयास पनि गरिएको छ ।
हाइल्यान्डरका उपाध्यक्ष याङका अनुसार पानीमुनि सञ्चालन हुने सुविधाले चिसो गर्न चाहिने ऊर्जाको झन्डै ९० प्रतिशत बचत गर्न सक्छ । तर विज्ञहरूले भने अहिले यस्ता योजनाहरू मुख्यतः प्राविधिक सम्भाव्यता देखाउन केन्द्रित रहेको बताउँछन् । क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता साओलेई रेनका अनुसार यस्ता परियोजनाहरूले ठूलो स्तरमा व्यावसायिक प्रयोगमा आउनुअघि अझै धेरै चुनौती पार गर्नुपर्नेछ ।
माइक्रोसफ्टले आफ्नो पोड सन् २०२० मा पुनः प्राप्त गरेपछि परीक्षणलाई सफल भने पनि, त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरेको थिएन । समुद्रको पिँधमा डाटा सेन्टर सञ्चालन गर्नुअघि निर्माण–सम्बन्धी गम्भीर चुनौती र वातावरणीय प्रभावका प्रश्न समाधान गर्नुपर्ने आवश्यकता अझै छ ।
चीनमा भने सरकारी सहयोगले यसलाई प्रोत्साहन दिइरहेको छ । उदाहरणका लागि, हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान परियोजनाका लागि चार करोड युआन (करिब ५६ लाख २० हजार अमेरिकी डलर) अनुदान प्राप्त गरेको थियो, जुन अझै सञ्चालनमा रहेको छ ।
साङ्घाई परियोजनामा संलग्न इन्जिनियर झो जुनका अनुसार पानीमुनिको डाटा सेन्टर निर्माण सुरुमा अपेक्षाभन्दा निकै जटिल रहेछ । समुद्रमा राख्नुअघि यसको कम्पोनेन्टहरू तटमा नै अलग–अलग बनाएर संयोजन गरिन्छ । यस संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट लगभग सम्पूर्ण ऊर्जा प्राप्त गर्ने योजना छ, जसमा ९५ प्रतिशतभन्दा बढी ऊर्जा नवीकरणीय स्रोतबाट आउनेछ ।
तर समुद्री संरचनाको सबैभन्दा ठूलो चुनौती भनेको यसको सामग्रीलाई नुनिलो पानीले क्षय हुनबाट जोगाउनु हो । यसलाई समाधान गर्न हाइल्यान्डरले स्टिलको क्याप्सुललाई गिलास फाइबर भएको विशेष सुरक्षात्मक तहले ढाकेको छ । साथै, मर्मतका लागि पोडलाई पानीमाथि उठाउन सकिने लिफ्ट प्रणाली पनि जोडिनेछ ।
विज्ञ रेनका अनुसार समुद्रमुनिको डाटा सेन्टरलाई मुख्य भूमि इन्टरनेटसँग जडान गर्नु परम्परागत सर्भरहरूभन्दा बढी जटिल हुन्छ । थप रूपमा, अमेरिकाको फ्लोरिडा विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इलेक्ट्रो–कम्युनिकेसनका अनुसन्धानकर्ताहरूले पानीमुनि सञ्चालित यस्ता केन्द्रहरू ध्वनि तरङ्गद्वारा आक्रमणको जोखिममा पर्न सक्ने निष्कर्ष निकालेका छन् ।
प्राविधिक अवरोध मात्र नभई पारिस्थितिक प्रभाव पनि महत्त्वपूर्ण प्रश्न बनेको छ । समुद्रमुनि स्थायी रूपमा डाटा सेन्टर राख्दा वरपरको पानीको तापक्रम परिवर्तन हुनसक्ने र त्यसले समुद्री जीवहरूको व्यवहारमा असर पार्नसक्ने अनुमान गरिएको छ । हल विश्वविद्यालयका समुद्री पारिस्थितिकीविद् एन्ड्र्यु वान्टका अनुसार उत्सर्जित गर्मीले कतिपय प्रजातिलाई आकर्षित गर्न सक्छ भने कतिपयलाई टाढा भगाउन सक्छ ।
हाइल्यान्डरले भने सन् २०२० मा झुहाई नजिक गरिएको परीक्षण परियोजनाको स्वतन्त्र मूल्याङ्कनले पानीको तापक्रम स्वीकार्य सीमाभन्दा तल नै रहेको देखाएको बताएको छ । तर रेनले भने ठूलो स्तरमा यसलाई विस्तार गर्दा उत्सर्जित गर्मी झनै बढ्नसक्ने चेतावनी दिनुभयो । उहाँका शब्दमा, “मेगावाट–स्तरका पानीमुनि डाटा सेन्टरहरूको हकमा थर्मल प्रदूषणबारे अझ गहिरो अध्ययन अनिवार्य छ ।”
विज्ञहरूको धारणा अनुसार यस्तो किसिमको अपतटीय सुविधा पारम्परिक डाटा सेन्टरलाई पूर्णतः प्रतिस्थापन गर्न नसके पनि पूरक स्वरूपमा उपयोगी हुन सक्छ । विशेष क्षेत्रमा अतिरिक्त सेवा आवश्यक परेमा पानीमुनिका डाटा सेन्टरहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।