`

हिल्सा माछाको संरक्षणका लागि बङ्गलादेशद्वारा युद्धपोत र गस्ती विमान तैनाथ

Nepal One HD १९ असोज २०८२ १८:३६
विश्व

बङ्गलादेशले आफ्नो बहुमूल्य राष्ट्रिय माछा हिल्सा लाई प्रजनन सिजनमा अवैध माछा मार्ने गतिविधिबाट जोगाउन विशेष सुरक्षा अभियान सञ्चालन गर्दै नौसेनाका युद्धपोत र गस्ती विमान तैनाथ गरेको छ ।

हेरिङ–जस्तो स्वादिष्ट हिल्सा बङ्गलादेशको राष्ट्रिय माछा हो, जसलाई छिमेकी भारतको पश्चिम बङ्गालमा पनि अत्यन्त मन पराइन्छ । प्रत्येक वर्ष हिल्साहरू बङ्गालको खाडीबाट अण्डा दिनका लागि नदीहरूमा फर्कने गर्छन् ।

बङ्गलादेशी अधिकारीहरूले अक्टोबर ४ देखि २५ सम्म देशभरका माछा मार्ने क्षेत्रमा तीन हप्ते प्रतिबन्ध लगाएको जनाएका छन् । प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि नौसेनाले १७ युद्धपोत र अत्याधुनिक गस्ती हेलिकप्टरहरू परिचालन गरेको रक्षा बलको इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) विभागले जनाएको छ ।

“युद्धपोत र समुद्री गस्ती विमानहरूले गहिरो समुद्रमा विदेशी र आन्तरिक माझीहरूको अवैध प्रवेश रोक्न चौबीसै घण्टा निगरानी गरिरहेका छन्”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बङ्गलादेशका लाखौँ नागरिकको आजीविका माछामा निर्भर छ । ढाकामा हिल्साको मूल्य प्रतिकिलोग्राम दुई हजार दुई सय टका (करिब १८.४० डलर) सम्म पुग्छ । भारतको पश्चिम बङ्गाल र कोलकाताजस्ता बजारमा बढ्दो माग पूरा गर्न अत्यधिक माछा मारिँदा हिल्साको सङ्ख्या घट्दै गएको अधिकारीहरूको भनाइ छ ।

वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्नु र डेल्टाको पारिस्थितिकीय सन्तुलनमा आएको अव्यवस्थाले हिल्साको प्रजननमा नकारात्मक असर पार्दै गएको छ ।

तर केही विशेषज्ञहरूले युद्धपोतको उपस्थितिले हिल्साको प्रजननमा खलल पुर्‍याउने चेतावनी दिएका छन् । वल्र्डफिस को इकोफिस परियोजनाका पूर्व प्रमुख मोहम्मद अब्दुल वहाबले भन्नुभयो, “हिल्सालाई अण्डा दिनका लागि शान्त र अव्यवस्थित पानी आवश्यक पर्छ, त्यसैले युद्धपोतको सट्टा ड्रोनमार्फत निगरानी गर्नु उपयुक्त हुन्छ ।”

बङ्गलादेश सरकारले प्रतिबन्धको समयमा माझी परिवारलाई क्षतिपूर्ति स्वरूप प्रत्येकलाई २५ किलोग्राम चामल वितरण गर्ने व्यवस्था गरेको छ । तर धेरै माझीले यो सहयोग पर्याप्त नभएको बताएका छन् ।

“यी तीन हप्ता हाम्रा लागि निकै कठिन हुन्छन् । माछा मार्न नपाउँदा बाँच्न नै गाह्रो हुन्छ”, ६० वर्षीय माझी सत्तार माझीले गुनासो गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *