हाम्रा प्रयत्नको तुलनामा षड्यन्त्रकारी मुखर भए : एमाले महासचिव


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको टिप्पणी गरेका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्याएको बताए ।
‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन–जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निष्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो । त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्यायो,’ उनले भने । महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे ।
‘राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ’
एमाले महासचिव शंकर पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामनाका लागि पार्टी एकताबद्ध हुन अपिल गरेका छन् । जेन–जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकको सुरुवात गर्दै यस्तो धारणा राखेका हुन् । उनले षडयत्नकारीहरुले षड्यन्त्र गर्दा २३ र २४ गतेको घटना भएको उनले उल्लेख गरे । ‘स्वाभाविक रुपमा पार्टीमा उत्पन्न भएका चुनौती सामान गर्न पार्टी एकताबद्ध हुन जरुरी छ’ उनले भने ।