चुनाव हुनेवाला छैन, गराउने बाटोमा सरकार छैन : ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन तोकिएको समयमा नहुने दावी गरेका छन् । आजदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सरकार नै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् ।
‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नु पर्दछ, चुनाव हुनेवाला छैन । चुनाव गराउने बाटो सरकारले समातेको छैन । अवैध ढङ्गको असंवैधानिक सरकार हो यो, हामी सबैलाई थाहा छ नि त, संविधानको धारा १३२ को १, २… यिनीहरूले छर्लङ्गै भनेका छन्, पूर्व प्रधानन्यायधीश के गर्न हुन्छ के गर्न हुँदैन, संविधानमा लेखेको छैन ? अनि पूर्व प्रधानन्याधीशले आफै फैसला गर्ने अनि आफै फेरि असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने । संवैधानिक भनेर संसद विघटन फैसला गर्ने उहाँहरू, अहिले आफैले असंवैधानिक ढङ्गले विघटन गर्ने ? त्यसैले यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो ।’
उनले जेनजीको माग र आन्दोलन यससँग नजोडिने बताएका छन् । उनले जेनजीका माग सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल भएको बताउँदै आन्दोलनमा अरु तत्वहरू सक्रिय भएको दाबी गरे । ‘त्यस कारण यतिबेला हाम्रो काँधमा असाधारण जिम्मेवारी छ । त्यो जिम्मेवारी बहन गर्न हामी अगाडि बढ्नु पर्छ । यो नै हाम्रो पार्टीको कर्तव्य हो’, ओलीले भने ।