`

एमाले केन्द्रीय सदस्य शेपाको प्रस्ताव : नेतृत्वमाथि प्रहार गर्ने नेतालाई पार्टीबाटै निष्काशन गरौं

Nepal One HD ३० असोज २०८२ १६:३७
नेकपा एमाले

काठमाडौं । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता झन बढेको दाबी गरेका छन् । ११ औं महाधिवेशनबाट फेरि ओलीलाई नै अध्यक्ष बनाउनु पर्ने प्रस्ताव उनले गरेका छन् । चालु केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै उनले ओलीलाई हटाउने एजेण्डा विदेशी खुफियाहरुको भएको टिप्पणी गरे । त्यसको कार्यान्वयनमा प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईंहरू लागिपरेको शेर्पाको भनाइ छ ।

ओलीको विरोध गर्ने नेताहरूलाई यही बैठकले कारबाही गर्नुपर्ने माग समेत उनले राखेका छन् । ‘केपी ओलीलाई हटाउनु पर्छ भन्ने एजेण्डा विदेशी खुफियाहरुको एजेण्डा हो । त्यसलाई कार्यन्वयन गर्ने नेपाली कारिन्दाहरु प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं बनेका हुन्,’ उनले बैठकमा भने, ‘अहिले हाम्रै केही नेताहरूले उनीहरूका एजेण्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुष्मनका एजेण्डालाई मलजल पुग्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराधको बिषय हो । यसको निर्मम समीक्षा हुनु पर्दछ ।’

मुलुक गम्भीर अवस्थामा भएको र यस्तो बेला ओलीले नै पार्टीको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । ‘यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा कमरेड केपी शर्मा ओलीकै निर्विकल्प नेतृत्वमा नेकपा (एमाले) लाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ भन्ने मेरो प्रस्ताव छ,’ उनले बैठकमा प्रस्ताव गरेका छन् ।

शेर्पाले बैठकमा बोलेका कुरा उनकै शब्दमा :
संकटको घडीमा मूल नेतृत्वलाई नै प्रहार गरेर पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिँदै हिँड्ने सचिवालय भित्रका नेताहरुलाई यो बैठकले कारबाही गर्नुपर्छ भन्ने मेरो प्रस्ताव छ । विधान महाधिवेशनमा असहमति केही छ कि ? भनेर अध्यक्षले सोध्दा सबै ठीक छ भनेर सहमति जनाउने अनि जेनजी आन्दोलनले आगो लगाएपछि अब केपी ओलीले भएन, बिदा लिनुपर्छ भन्दै हिँड्ने ? नेताहरुको यो तरिकाप्रति दुःख व्यक्त गर्दछु ।

केपी ओलीलाई हटाउनु पर्छ भन्ने विदेशी खुफियाहरूको एजेण्डा हो । त्यसलाई कार्यान्वयन गर्ने नेपाली कारिन्दाहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाई हुन् । अहिले हाम्रै केही नेताहरुले उनीहरुका एजेन्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुश्मनका एजेन्डालाई मलजल पुग्ने गरी नेताहरुबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भिर अपराधको बिषय हो । यसको निर्मम समीक्षा हुनु पर्दछ ।

हाम्रा केही नेताहरूले ‘एमाले सच्चिन्छौँ, सच्चिनु पर्छ, हामी माफी माग्छौँ’ भन्दै फेसबुकमा पोस्ट गर्ने, मिडियाहरुमा अन्तर्वार्ता दिने काम गरेका छन् । मैले नबुझेको कुरा, एमाले कुन कुरामा बिग्रिएको हो ? कुन विषयमा सच्चिनुपर्ने हो ? हामीले जनतालाई कुन कुरामा माफी माग्नुपर्ने हो ? एमालेका नेताहरूले सार्वजनिक रूपमा यसरी माफी मागेर हिँड्ने भनेर हाम्रो कुन बैठकले निर्णय गरेको हो ? यसलाई प्रष्ट पारियोस् ।

संकटको बेला हाम्रा नेताहरु आफू मातहतका कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु त कता हो कता, उल्टै विग्रहका चर्चा चलाउने, फुट र गुटका विभिन्न गतिविधि सञ्चालन गर्ने, मूल नेतृत्वलाई खुइल्याउने र घेराबन्दी गर्ने काम गरिरहेको देख्छु । यो घोर आपत्तिको बिषय हो । यस्ता तत्वहरुले त जेन्जी आन्दोलनमा घुसपैठ गरी देश ध्वस्त पारे जस्तै संगठनभित्र घुसपैठ गरी पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरू हुन् भन्ने मेरो ठहर छ । यस्ता तत्वहरूलाई समयमै पहिचान गरी ठूलै नेता भए पनि अब पार्टीबाट निश्कासन गर्नु आवश्यक छ भनेर माग राख्दछु धन्यवाद ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *