`

रोमानियाको होटल आगलागीमा हुँदा मृत्यु भएका सोनी र सुस्मिताको शव नेपाल पठाइयो

Nepal One HD ३१ असोज २०८२ १०:५५
प्रमुख खबर

काठमाडौं । युरोपेली मुलुक रोमानियामा होटलमा आगलागी हुँदा मृत्यु भएका दुई नेपाली युवतीको शव नेपाल पठाइएको छ । गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको शव आज नेपाल पठाइएको हो ।

सोनी, सुस्मिता तथा सेप्टेम्बर २६ मा दुर्घटनामा परी मृत्यु भएका धनुषाका वीरेन्द्रकुमार ठाकुरको शव हिजो साँझ टर्किस एयरलाइन्सको उडानबाट नेपाल पठाइएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले जानकारी दिए । उनले तीनै जनाको शव १९ तारिख बिहान काठमाडौँ पुग्ने समेत जनाएका छन्।

त्यसको जानकारी सम्बन्धित मृतकका परिवारलाई गराइसकिएको उपप्रमुख फुयालले बताए । रोजगारीको सिलसिलामा मृतक सोनी एक वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया पुगेका थिए । काम गर्ने होटलकै माथिल्लो तलामा बस्ने उनीहरूको विद्युत् सर्ट भएर लागेको आगोमा परी मृत्यु भएको हो । आगलागीमा परी सोनी र सुस्मिताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी इलामको चुलाचुली गाउँपालिका–३ घर भएकी सुमिना मगर उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *