एकै दिन सात हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) एकै दिन सुनको भाउ तोलामा सात हजार एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ ।