भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको सहयोगको आवश्यकता छः प्रधानमन्त्री कार्की


भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन् ।
नेपाल संवतको अवसर पारेर बुधवार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन=जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरुबाट काम भईरहेको दाबी समेत गरिन् । उनले नेपालको संविधानको अधिनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताईन्।
उनले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्,‘जेन—जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले त्यो चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा सम्वाद भईरहेको छ । परिवर्तनका बाहक जेन—जी समुदायसँग पनि निरन्तर सम्वाद र सम्पर्कमा छौं । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्धामा मौन बसेका छौ भन्ने होइन ।
नेपालको संविधानको अधिनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम गरी अघि बढाईरहेको छ । यसका लागि समाजका सबै पक्षको उचित भुमिका हुन्छ । आउनुहोस, यसमा सहकार्य गरौं । र सचेत नागरिकको भुमिका निर्वाह गरौं । समाजमा सदभाव र एकता कायम गर्दै लोकतन्त्र जिवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौं । यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समुदायको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल सम्वत नेपालीहरुको मौलिक सम्वत रुपमा रहेकाले त्यसका संरक्षण संवद्र्धन गर्न सरकारले विशेष ध्यान दिएको बताइन् ।