झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो
भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन् ।
हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।
हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गरेकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन् । तर, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन ।
बाँस्तोलालाई घाइते बनाएको हातीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोषित बन्नु भएका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गरे । उनले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाए । “वर्षभरि खानका लागि भनेर दुःख गर्र्यो, पाकेर थन्क्याउनै पाइँदैन”, उनले भने, “कि सरकारले नियन्त्रण गर्नुपर्यो कि सुरक्षा दिनुपर्यो । यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो ।”
मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ । भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपाने पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताउँछन् ।
