`

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति

Nepal One HD १५ कार्तिक २०८२ १८:२६
समाज

सर्लाही । बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका–१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताए ।

‘एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,’ उनले भने- ‘भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त कुहिएर काम नलाग्ने भइसकेको छ ।’

लगातार परेको झरीका कारण आफूहरु समस्यामा परेको किसान विनोद यादवले सुनाए । ‘भित्र्याउने समयमा धानबालीमा पानीले क्षति गर्दा मन अमिलो बनेको छ’, उनले भने । यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए । केही दिन सुकाएर उठाउने तरखर गर्दागर्दै पानी पर्न थालेपछि समस्या भएको उनीहरुको भनाइ छ ।

केही समय अघि आएको बाढीका कारण पनि यहाँका किसान समस्यामा परेका थिए । पहिले बाढी र हावाले धान लडाएको थियो । अहिले परेको झरीले त्यसलाई डुबाएपछि अब धान काम नलाग्ने किसानको गुनासो छ ।

बोटमै रहेको धानमासमेत बाला झर्ने,पानीले जमिन गलेपछि धानको बोट लड्ने समस्या भएको बागमती नगरपालिका–११, का किसान यज्ञ धिमालले बताए । समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका किसान अहिले बेमौसमी पानीले मारमा परेको उनको भनाइ छ ।

जसोतसो उत्पादन भएको धान नाश हुने अवस्था आएको बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीको भनाइ छ । जिल्लाको अधिकांश स्थानमा परेको झरीले किसानले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।

केन्द्रका अनुसार यसवर्ष जिल्लामा ८० प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको थियो । त्यसमा पनि समय घर्किएर गरेको रोपाइँले धान उत्पादनमा गिरावट आउने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *