`

श्रीलङ्काका पूर्व मन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ

Nepal One HD २६ कार्तिक २०८२ १९:४०
विश्व

श्रीलङ्काका पूर्व पर्यटन मन्त्री प्रसन्न रणतुङ्गालाई आर्थिक सङ्कट सुरु भएको समयमा भएको बीमा हिनामिनासम्बन्धी आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रणतुङ्गा तत्कालीन राष्ट्रपति गोठाबाया राजपक्षे नेतृत्वको सरकारले सन् २०२२ मा भ्रष्टाचारविरुद्धका जनआन्दोलनका कारण पतन हुनुअघि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

रिपोर्टहरू अनुसार उहाँमाथि सन् २०२१ मा राज्य स्वामित्वको बीमा कम्पनीलाई ठगी गरेको आरोप छ । यसअघि पनि उहाँ जबर्जस्ती असुली (अघोषित रकम असुल्ने) मुद्दामा दोषी ठहर भई सजाय भोगिसकेका छन् ।
बुधबार उहाँलाई केही समय हिरासतमा राखिएपछि एक लाख श्रीलङ्काली रुपियाँ (झन्डै ३३३ अमेरिकी डलर) धरौटीमा रिहा गरिएको छ । कोलम्बोका प्रमुख न्यायाधीश असङ्ग बोडारागामाले उहाँलाई विदेश यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

५८ वर्षका रणतुङ्गालाई यसअघि नै दुई वर्षको निलम्बित जेल सजाय सुनाइएको थियो र २५ लाख रुपियाँ जरिवाना गरिएको थियो । साथै, उहाँलाई एक स्थानीय व्यवसायीलाई १० लाख रुपियाँ क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । सो आदेश पालना नगरे थप १२ वर्षको जेल सजाय हुने चेतावनी दिइएको छ ।
श्रीलङ्काले सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण तिर्न नसकी आर्थिक पतनको सामना गरेको थियो ।

देशमा सरकारी भ्रष्टाचारका कारण कति आर्थिक क्षति भएको भन्ने आधिकारिक तथ्याङ्क उपलब्ध छैन, तर सिविल समाजका कार्यकर्ताहरूका अनुसार विगत केही दशकमा यो क्षति अर्बौँ डलर पुगेको अनुमान गरिएको छ ।
नयाँ सरकारले हालसालै पारित गरेको कानुन अनुसार, घूस र भ्रष्टाचार अनुसन्धान आयोगलाई अपराध प्रमाणित नभए पनि अवैध रूपमा आर्जित सम्पत्ति फिर्ता गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *