बङ्गलादेशमा शुक्रबारको भूकम्पपछि पराकम्पन आउने क्रम जारी
बङ्गलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जनाएको छ।
शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ र सयौँ घाइते भएको प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी गराउनुभयो ।
भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो, जसले भौतिक संरचनामा व्यापक विनाश निम्त्याएको बताइएको छ। विभागका टोरिफुल नेवाज कबिरले ढाकाबाट २९ किलोमिटर टाढा रहेको नरसिङ्दी जिल्लाको पलास सहरमा शनिबार पनि केही साना परकम्प गएका जानकारी दिनुभयो ।
विभागले शुक्रबारको भूकम्पको केन्द्रविन्दु राजधानीको उत्तरमा रहेको अशुलियामा रहेको बताएको थियो ।ठूला भूकम्पपछि पराकम्प आउनु सामान्य कुरा हो, तर कमजोर भौतिक संरचना रहेका बङ्गलादेशका ग्रामिण तथा शहरी क्षेत्रमा समेत यसले अझ ठूलो विपत्तिको डर थपेको छ।
“म अझै सुरक्षित महसुस गर्न सक्दिनँ, किनकि आज बिहान अशुलियामा अर्को झट्का महशुुस भएको छ,” स्थानीय शहनाज परविनले भन्नुभयो । शुक्रबारको भूकम्पको केन्द्रविन्दु नजिकै बस्ने ४४ वर्षीया उहाँले एएफपीसँग आफूले यस्तो भूकम्प कहिल्यै अनुभव नगरेको बताउनुभयो ।
उहाँल भन्नुभयो, आफ्नो क्षेत्रका दर्जनौं घरहरूमा चर्किएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। केही आंशिकरूपमा भत्किएका छन् ।सरकारले क्षतिको परिमाण आँकलन गर्न र राहत तथा उद्धारमा समन्वय गर्न बङ्गलादेशको आपतकालीन सेवा केन्द्रलाई सक्रिय पारेको छ।
मौसम विभागको भूकम्प अवलोकन तथा अनुसन्धान केन्द्रका रुबायत कबिरका अनुसार १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको भूगोल भूकम्पका लागि जोखिमयुक्त मानिन्छ ।
उहाँले भन्नुभयो, “विगत १०० वर्ष वा त्योभन्दा बढीमा ठूलो भूकम्प गएको छैन, तर केही समयदेखि बङ्गलादेश भूकम्पका हिसाबले जोखिममा रहेको छ।”
