एनपीएलमा सट्टेबाजी : २ करोडभन्दा बढीको कारोबार, १० जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।
स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको भट्टराईको भनाइ छ ।
नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।
