`

मधेस प्रदेश सांसद विच्छा पदमुक्त

Nepal One HD १९ मंसिर २०८२ १५:१७
प्रमुख खबर

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ । संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार गरेको थियो ।

प्रदेश सभा सदस्य विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको सूचना सहित आवश्यक कारबाहीका लागि अनुरोध भन्ने पत्र राप्रपाले पठाएको थियो । प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसञ्चालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *