रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताएका छन् । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताएका छन् । उनकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उनले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनु पर्ने समेत बताए ।
अध्यक्ष सिंहले भने, ‘निर्माण क्षेत्र अहिले आक्रान्त बनेको छ । म प्रधानमन्त्री, विकास निर्माणको जिम्मा लिएका मन्त्रालयका मन्त्रीहरुलाई रुग्ण ठेक्काहरुको नाममा अहिले निर्माण उद्योगीहरुलाई अन्योलको वातावरणको सिर्जना भयो । ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई प्रताडित काम भएको छ । एकतर्फी रुपमा आम जनतालाइ पनि निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम भएको छ । यो गलत छ ।’
उनले भने, ‘एकदमै गम्भीर भएर रुग्ण ठेक्काको व्यवस्थापन हुनुपर्छ । सकेसम्म सम्पन्न हुने योजनालाई सम्पन्न गर्नका लागि वातावरण बनाइ दिनुपर्छ । सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनु पर्छ । अहिले ठेक्का अन्त्य गर्ने नाममा त्रास फैलिएको छ, यसले बैंकङ क्षेत्रलाइ पनि अन्योल बनाएको छ । यो कुरामा सरकारलाई गम्भीर हुन आग्रह गर्दछु ।’
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दीले असर गरेको बताए । उनकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्ने उनको भनाइ छ । सचिव गोपाल सिग्देलले भने, ‘हामी एकप्रकारको मन्दीबाट ग्रुजिरहेका छौं । सबै उद्योग आफै पनि शिथिल छ । अहिले उकुसमुकुसको स्थिति छ । सम्भवतः यो इतिहासकै शिथिल अवस्था हो । यो धेरै कारण छन् । हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो ।’
उनले भने, ‘कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानु पर्छ । पछिल्ला सरकारका गतिविधि हेर्दा रुग्ण ठेक्का सबै तोडेर मात्रै समाधान हुन्छ जस्तो मलाइ पनि लाग्दैन । हामीसँग कुनै बेला देशभरी ३१ सय रुग्ण ठेक्का थिए । ७ -८ सय सडक विभागकै ठेक्का थियो । अहिले त्यो स्थिति छैन । त्यो स्थिति होइन । शहरी विकास मन्त्रालयमा ४२ वटा ठेक्का भवन विभागको र १०÷१२ वटा झोलुङे पुलसम्बन्धि ठेक्का थियो । धेरैको ठेक्का तोड्नु परेको छैन् । काममा फर्किनु भएको छ ।’ उनले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरु नतोडिएको समेत बताए । सिग्देलकाअनुसार कतिपय ठेक्काहरु चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
