`

कमल थापा भन्छन्, ‘केही दिनमै खुशीको समाचार सुन्न पाउनु हुनेछ’

Nepal One HD २२ मंसिर २०८२ २०:३६
प्रमुख खबर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनका माग र भावनालाई ‘हाइज्याक’ गरिएको आरोप लगाउँदै बलियो राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याएका छन् ।

काठमाडौँमा आयोजित राप्रपा नेपाल काठमाडौँ जिल्लास्तरीय जेनजी फ्रन्टको भेलालाई सम्बोधन गर्दै थापाले भाद्र २४ गतेपछि जेनजी आन्दोलनलाई लक्षित गर्दै विभिन्न षड्यन्त्र सुरु भएको दाबी गरेका छन् । ‘जेनजी, दाजुभाइ–दिदीबहिनीको सपना पूरा गर्न अब सबै राष्ट्रिय शक्ति एक ठाउँमा बस्ने बेला आएको छ,’ उनले भने।

थापाले राप्रपा र राप्रपा नेपालबीच चाँडै एकता हुन सक्ने संकेत पनि दिए । ‘सबै अनुकूल भए केही दिनमै खुशीको समाचार सुन्न पाउनु हुनेछ,’ उनले भने । थापाले जेन्जी आन्दोलनलाई ८४ को निर्वाचन वा नेतृत्व परिवर्तनसँग जोडेर व्याख्या गर्नु गलत भएको टिप्पणी गरे । देशका हजारौँ युवाले गरेको बलिदानपछि पनि खोजिएको परिवर्तन नआएको भन्दै उनले राजनीतिक नेतृत्वमा रहेको कमजोरीतर्फ संकेत गरे ।

उनी अहिलेको निर्वाचन प्रणाली महँगो, त्रुटिपूर्ण र अपराधीकरणलाई बढावा दिने खालको भएको भन्दै चिन्तित देखिए । ‘करोडौँ खर्च गरेर जित्नेले जनताको सेवा गर्छ कि त्यो पैसा उठाउनेतिर लाग्छ ?’ उनले प्रश्न गरे । थापाले संविधानिक अंग तथा न्यायपालिकामा हुने ‘भागबण्डा’ र राजनीतिक हस्तक्षेपकै कारण भ्रष्टाचार मौलाएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *