लोकतन्त्रभित्र राजतन्त्र समेटौं : रविन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन् । मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राप्रपाले सबैले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए ।
उनले राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताए । उनले आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरु रहनुपर्ने पनि बताए । राजनीतिक दलहरुले राज्य नै क्षयीकृत हुने गरी गल्ती गरेको पनि बताएका छन् ।
उनले भने, ‘अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नु पर्छ । हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ । आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरुलाई पनि समेटनु पर्छ । राजनीतिक दलहरुले हजारौँ गल्ती गरेका छन् । राष्ट्र, राज्य नै क्षयीकृत हुने गरेर गल्ती गरेका छन् ।’ उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनु पर्ने बताए ।
