`

‘जेनजी’ विद्रोहको दुई दिनमै प्रतिगमन भयो, उही संरचनाको चुनावले निकास दिँदैन : राजेन्द्र लिङ्देन

Nepal One HD २३ मंसिर २०८२ १५:२७
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा देशव्यापी रूपमा उग्रिएको ‘जेनजी’ युवा आन्दोलनले उठाएका मूल भावनाहरूलाई राज्य सत्ता र राजनीतिक नेतृत्वले गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित राप्रपाको विरोध सभामा उनले आन्दोलन सकिएको दुई दिनमै देखिएको राजनीतिक प्रतिगमन देशको समस्याको जरो कटान गर्ने कुनै संकेत नभएको टिप्पणी गरेका छन् ।

लिङ्देनका अनुसार युवाहरूको आक्रोश कुनै एक व्यक्ति मात्र हटाउने वा नेतृत्व बदल्ने उद्देश्यका लागि थिएन । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सत्तामा पुर्‍याउने जस्ता मागहरू आन्दोलनको वास्तविक सार होइन भन्दै त्यसलाई सतही रूपमा बुझिनु दुर्भाग्यपूर्ण भएको जनाए । उनका शब्दमा, देशमा शान्ति, स्थायित्व र युवाले आफ्नै मातृभूमिमा गरिखान सक्ने वातावरण निर्माण नै जेनजी आन्दोलनको मूल ध्येय थियो ।

अध्यक्ष लिङ्देनले विगतमा राजा र राजनीतिक दलहरूबीच नयाँ प्रकारको समझदारी आवश्यक छ भन्ने कुरालाई दलहरूले हलुका रूपमा लिएको स्मरण गरेका छन् । आफूहरूले राजनीतिक सुधारको चेतावनी दिँदा उपहास गरिएको भन्दै उनले त्यही अवहेलनाले आजको जटिल राजनीतिक परिस्थितिलाई निम्त्याएको आरोप लगाए । उनका अनुसार, वर्तमान व्यवस्थामा रहँदा मात्र निर्वाचन गराउँदा वा व्यक्ति मात्र फेर्दा देशले खोजिरहेको स्थायी समाधान सम्भव छैन ।

२०८४ को निर्वाचनलाई २०८२ मै धकेल्यो वा नेतृत्व फेरियो भन्दैमा मुल समस्या हल नहुने भन्दै उनले चेतावनी दिए । जेनजी आन्दोलनपछि दुई दिनमै देखिएको प्रतिगमनले राजनीतिक प्रणालीकै कमजोरी उजागर गरेको उल्लेख गर्दै उनले उही चुनाव प्रक्रिया र उही संरचनाबाट फेरि समाधान खोज्नु भ्रम हुने बताए ।

देशलाई बढ्दो भूराजनीतिक दबाब र अनिश्चितताबाट जोगाउन अब आवश्यक उपाय भनेकै चुनावअघि नै राजा, राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच नयाँ राजनीतिक समझदारी निर्माण गर्नु हो भन्ने उनको निष्कर्ष थियो । लिङ्देनले दीगो समाधान खोज्ने हो भने पुरानै बाटो समाएर अघि बढ्ने समय अब सकिएको स्पष्ट सन्देश सभामा दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *