`

एनपीएल फाइनल : कीर्तिपुरमा नयाँ इतिहास लेखिँदै, कसले पाउँला करोडमाथिको पुरस्कार ?

Nepal One HD २७ मंसिर २०८२ १२:२८
खेलकुद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । एकातिर लगातार दोस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम छ भने अर्कोतर्फ पहिलो पटक प्लेअफ पार गर्दै सीधै उपाधि नजिक पुगेको लुम्बिनी । जसले जिते पनि एनपीएलको इतिहासमा नयाँ नाम स्वर्णाक्षरले लेखिनेछ ।

सुदूरपश्चिम रोयल्स दिपेन्द्रसिंह ऐरीको कप्तानीमा यस प्रतियोगिताको सबैभन्दा सन्तुलित र अनुभवी टोलीका रूपमा देखिएको छ । पहिलो क्वालिफायरमै विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उसले फाइनलको यात्रा तय गरेको हो । गत संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पाँच विकेटले पराजित भएको पीडा बिर्साउँदै यस पटक उपाधि उचाल्ने उसको दृढ लक्ष्य छ । लिग चरणमै लुम्बिनीसँगको भेटमा सुदूरपश्चिमले सात विकेटको प्रभावशाली जित निकालिसकेको छ, जसले टोलीको आत्मविश्वास अझ बलियो बनाएको छ ।

लुम्बिनी लायन्स भने प्रतियोगिताको सबैभन्दा रोचक कथा बोकेको टोली बनेको छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको यो टोलीले रोहित पौडेलको नेतृत्वमा अप्रत्याशित पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले इतिहासमै पहिलो पटक एनपीएल फाइनल खेलेको हो । निरन्तर जितको लय, युवा खेलाडीको आत्मविश्वास र कप्तान रोहितको स्थिर प्रदर्शनले लुम्बिनीलाई उपाधिको दह्रो दाबेदार बनाएको छ । फाइनलसँगै पुरस्कारको चर्चा पनि उस्तै चर्को छ । यस पटक पनि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ पक्का गरिसकेका छन् । टोलीगत पुरस्कारसँगै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीहरूका लागि कारदेखि मोटरसाइकलसम्मको आकर्षक पुरस्कार पनि राखिएको छ ।

लिगभरको प्रदर्शनका आधारमा उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा कार प्रदान गरिनेछ । यो अवार्डका लागि सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर विनोद भण्डारी र बलर अविनाश बोहरा, लुम्बिनीका कप्तान रोहित पौडेल र बलर शेर मल्ल तथा विराटनगरका कप्तान सन्दीप लामिछाने प्रमुख दाबेदार मानिएका छन् । दिपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा निरन्तर योगदान दिँदै टोलीलाई फाइनलसम्म पुर्‍याएका छन् । विनोद भण्डारी शीर्ष रन स्कोररहरूको अग्रपंक्तिमा छन् भने अविनाश बोहराले १६ विकेटसहित बलिङ आक्रमण सम्हालेका छन् ।

लुम्बिनीका कप्तान रोहित पौडेल पनि रन चार्टमा शीर्ष पाँचभित्र छन् । अर्धशतक नजोडे पनि उनले हरेक खेलमा टिमलाई आवश्यक योगदान दिएका छन् । शेर मल्लले नयाँ बलमा प्रभावशाली प्रदर्शन गर्दै १४ विकेट लिइसकेका छन् । यद्यपि, सर्वाधिक विकेट लिने सूचीमा १७ विकेटसहित विराटनगरका सन्दीप लामिछाने शीर्ष स्थानमा रहे पनि टोली फाइनलमा नपुग्दा उनको दाबेदारी केही कमजोर देखिएको छ । क्यानले यस पटक बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट राइजिङ प्लेअरलाई पल्सर मोटरसाइकल प्रदान गर्ने निर्णय गरेको छ ।

ब्याटिङतर्फ विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रनसहित अगाडि भए पनि फाइनल नपुगेका कारण अब नेपाली खेलाडीहरू अवार्ड दौडमा बलियो देखिएका छन् । बलिङतर्फ सन्दीप, अविनाश र शेर मल्लबीच प्रतिष्पर्धा छ । इमर्जिङ प्लेअरको दौडमा शेर मल्ल अग्रपंक्तिमा मानिन्छन् । फाइनलअघि प्रधानमन्त्री सुशीला कार्कीले दुवै टोलीलाई शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत् उनले एनपीएलले खेलकुदमार्फत् देशलाई जोड्ने र विश्वसामु नेपालको सकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरेकी छन् । आज कीर्तिपुरमा खेल मात्र होइन, नेपाली क्रिकेटको उत्सव मनाइँदैछ । सुदूरपश्चिमको अनुभव र लुम्बिनीको जोशबीचको यो भिडन्तले एनपीएललाई नयाँ च्याम्पियन दिनेछ, र नेपाली क्रिकेटले अर्को ऐतिहासिक क्षण पाउनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *