ह्विलचियर बन्जी जम्प गरेर जन्मदिनमा दीपाले रचिन् साहसिक इतिहास
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन, अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छिन् ।
‘स्पाईनल बाईफिडा’ नामक शारीरिक अपाङ्गता हुँदाहुँदै पनि ह्विलचेयरसहित बन्जी जम्प गरेर उनले समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी हुन् र अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छिन् । अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश दिनकै लागि आफूले बन्जी जम्प गरेको उनको भनाई छ ।
‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ,’ देवकोटा भन्छिन्, ‘मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’
नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ । उनले आफ्नो जन्मदिन पारेर यो साहसीक इतिहास रचेकी हुन् ।
उनी भन्छिन्, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता भएको सन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहँदा म मेरो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।अपाङ्गताले मेरो जीवनको कुनैपनि अध्यायलाई रोक्नेछैन।’



