मन्त्री घिसिङका १०० दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सम्पन्न काम, हासिल भएका उपलब्धि र आगामी प्राथमिकतासहितको कार्ययोजना सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री घिसिङले सरकार गठनपछि बहु–मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै १०१ वटा महत्वपूर्ण काम सम्पन्न भएको दाबी गरे । उनले नेतृत्व लिएको टोलीले संकट व्यवस्थापन, पूर्वाधार सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
मन्त्री घिसिङका अनुसार जल तथा मौसम विज्ञान विभागलाई थप सक्रिय बनाउँदै मौसम र बाढीसम्बन्धी विशेष बुलेटिन प्रणाली लागू गरिएको छ । यसमार्फत जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना उपलब्ध गराइँदा सम्भावित क्षति न्यूनिकरणमा सहयोग पुगेको छ । उनले काठमाडौं उपत्यकामा लामो समयदेखि देखिँदै आएको बञ्चरेडाँडामा फोहोर विसर्जन अवरोध का कारण उत्पन्न फोहोर संकट समाधान गर्नु १०० दिनको प्रमुख उपलब्धिमध्ये एक भएको उल्लेख गरे । यसले राजधानीको जनस्वास्थ्य र सहरी व्यवस्थापनमा राहत पुगेको उनले बताए ।
त्यस्तै, वर्षौंदेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजना अन्तर्गत तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गर्नु पनि उल्लेखनीय उपलब्धि भएको मन्त्री घिसिङको भनाइ छ । यसले व्यापार, आवागमन र कूटनीतिक सम्बन्धलाई पुनः गतिशील बनाएको छ ।
मनसुनका कारण क्षतिग्रस्त वीपी राजमार्ग लाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याएर जनजीवन सहज बनाइएको, जोखिमपूर्ण सडक खण्डमा तत्काल मर्मत तथा व्यवस्थापन गरिएको विवरण पनि सार्वजनिक गरिएको छ । जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले परिणाममुखी काम, प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्व नै आफ्नो कार्यशैलीको आधार भएको बताए। आगामी दिनमा ऊर्जा उत्पादन, सुरक्षित पूर्वाधार, शहरी व्यवस्थापन र विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाइने उनको प्रतिबद्धता छ । कार्यक्रममा उनले १०० दिनका उपलब्धिसँगै आगामी कार्यकालमा कार्यान्वयन गरिने योजनाहरू पनि सार्वजनिक गर्दै जनअपेक्षा अनुसार नतिजा दिने गरी सरकार अघि बढ्ने स्पष्ट पारे ।
मन्त्री घिसिङले सार्वजनिक गरेका कामहरुको विवरण

