`

राप्रपा र राप्रपा नेपालबीच चार वर्षपछि पार्टी एकता {तस्वीरहरु}

Nepal One HD १६ पुष २०८२ १५:०२
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच चार वर्षपछि पुनः पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच भएको यस एकतासँगै राजावादी तथा राष्ट्रवादी धारका शक्तिहरू फेरि एकै राजनीतिक छातामुनि आएका छन् ।

दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गर्दै लामो समयदेखिको विभाजन अन्त्य भएको घोषणा गरेका हुन् । यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।सहमतिअनुसार एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा आयोजना हुने तय भएको थियो । २०७८ सालमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी छाड्दै राप्रपा नेपाल पुनः गठन गरेका थिए । उक्त निर्वाचनमा लिङ्देनले १,८४४ मत प्राप्त गर्दा थापाले १,६१७ मत ल्याएका थिए ।

हारपछि थापाले पार्टीभित्र निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका थिए र २५ मंसिर २०७८ मा हेटौँडामा पुगेर अलग पार्टी ब्युँताएका थिए । चार वर्षपछि भने उनी फेरि मूलधारमा फर्किएका छन् । यो एकताले आगामी प्रतिनिधिसभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत हुने अपेक्षा गरिएको छ । राप्रपाको इतिहासमा कमल थापाको ‘गीता कसम’ पनि निकै चर्चित छ । २८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा थापाले गीता हातमा लिएर पार्टी नफुट्ने कसम खाएका थिए । तर, करिब दुई वर्षमै पार्टी पुनः विभाजन भयो । आज त्यही नेता फेरि एकताको मञ्चमा देखिएका छन्, जसले राप्रपाको राजनीतिक यात्रा कति उतार–चढावपूर्ण छ भन्ने झल्काउँछ ।

राप्रपा स्थापना भएको ३५ वर्षमा सात पटक एकता र छ पटक विभाजन भइसकेको छ । २०४६ सालपछि पञ्चायतकालका प्रभावशाली नेताहरू—सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा लगायत-एकै पार्टीमा समेटिए पनि नेतृत्वको प्रतिस्पर्धा र सत्ताको खेलका कारण पार्टी कहिले जुट्ने, कहिले फुट्ने क्रम रोकिएन । २०४७ सालमै अध्यक्ष विवादका कारण राप्रपा (थापा) र राप्रपा (चन्द) बने । त्यसपछि एकता, पुनः विभाजन, सरकार निर्माण र विघटन, राजसंस्थासँगको निकटता वा दूरी-यी सबै कारणले राप्रपाभित्र निरन्तर कलह देखिँदै आयो । २०५३, २०६२, २०७३ र २०७८ का विभाजनहरू त्यसका प्रमुख उदाहरण हुन् ।

राप्रपाको विभाजनको मूल कारणमध्ये एक राजसंस्थाप्रतिको दृष्टिकोण पनि रहँदै आएको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा कमल थापाले राजालाई साथ दिँदै राप्रपा नेपाल गठन गरे भने अन्य नेताहरू गणतान्त्रिक व्यवस्थासँग सम्झौता गर्दै अघि बढे । यही वैचारिक दूरीले पार्टीलाई बारम्बार चिरा–चिरा बनायो । यस पटकको एकता राप्रपाको सातौँ एकीकरण हो । नेतृत्वमा रहेका लिङ्देन र पुनः फर्किएका थापा दुवैका लागि यो एकता पार्टीलाई स्थायित्व दिने अवसरका रूपमा हेरिएको छ । तर, विगतको इतिहास हेर्दा राप्रपाका लागि एकता सधैँ स्थायी बन्न नसकेको यथार्थ पनि उत्तिकै बलियो छ । अबको चुनौती भनेको विगतका गल्ती दोहोर्‍याउने कि एकीकृत भएर संगठन सुदृढ बनाउने भन्ने हो । आगामी निर्वाचनअघि भएको यो एकताले राप्रपालाई पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा पुर्‍याउँछ कि फेरि अर्को विभाजनको बीउ रोपिन्छ-यसको उत्तर समयले नै दिनेछ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *