`

वैकल्पिक राजनीतिका ‘ग्राउन्ड लिडर’ समुन्द्र केसी रास्वपाबाट ललितपुर–३ मा ‌आकांक्षी

Nepal One HD १७ पुष २०८२ १८:४७
राजनीति

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ‍‍‍‌‌‌‌‌‌‌‌(रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर-३ मा समुन्द्र केसीले उम्मेदवारी दिने बताएका छन् ।

सूचना प्रविधिमा स्‍नातक गरेका केसीले त्रिभुवन विश्‍वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीतिशास्त्रमा एमफील गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाटै राजनीतिशास्त्रमा एम‍ए गरेका केसी सार्वजनिक प्रशासनमा पनि एमए गरिरहेका छन् । ललितपुर, धापाखेलका स्थायी बासिन्दा उनी पेशाले शिक्षक हुन्। विवेकशील नेपाली अभियानबाट वैकल्पिक राजनीतिमा जोडिएका केसी विवेकशील साझा र रास्वपा एकीकरण भएपछि रास्वपाको नेतृत्वमा पुगेका हुन् ।

एकताअघि उनी विवेकशील साझा पार्टीका सचिव तथा विदेश विभाग प्रमुख थिए । जेन-जी आन्दोलनपछि वैकल्पिक दलहरुकाे एकीकरणमा महत्वपूर्ण योगदान गरेका केसी एकीकरणका लागि विवेकशील साझाले बनाएको संवाद समितिका सदस्य पनि थिए ।

२०७२ सालमा विवेकशील अभियानमा जोडिएका केसी ललितपुर जिल्लाको नेतृत्व गर्दै बागमती प्रदेश सचिव पनि भएका थिए ।

उद्धमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्‍न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा होमिएका हुन् ।

उनले विपद् व्यवस्थापनका निम्ति भूकम्प, बाढी-पहिरो, तराईमा हुरिबतास, आगलागी तथा काेरोना महामारीकालमा मैदानमा खटेर उल्लेख्य योगदान गरेका थिए।

मलेसियामा भएको एसियाली युवा नेताहरूको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका केसीले राजनीतिमा युवा सहभागिता र हस्तक्षेपका लागि निरन्तर आवाज उठाउने गरेका छन् ।

एक पाइला परिवर्तन तर्फ संस्थाका पूर्वअध्यक्ष रहेका उनी अन्तर्राष्ट्रिय पदकधारी तेक्‍वान्‍दाे खेलाडी पनि हुन। उनले युवाहरूमाझ चर्चित बहस कार्यक्रम डीडीएन (डिबेट नेटवर्क नेपाल) मा समेत सक्रिय भूमिका खेलेका थिए।

डा‍. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, ईनफ इज ईनफ अभियान, महिला हिंसाविरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान, ट्राफिक सचेतना अभियान लगायतका अभियानहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

ललितपुरमा जन्मेर हुर्किएका केसी ललितपुरको जमिन र जनतासँग नजिकबाट जोडिएका नेता हुन् ।

उनी आफ्नो बाल्यकाल धापाखेलको नागदह, कर्मनासा खोला, बालकुमारी मन्दिरको चौर, खुमलटारको कृषि, हरिसिद्धी, सुनाकोठी, ठेचो, ठैब, बुङ्‍मति र खोकनाका रमणीय जात्राहरू हेरेर बितेको बताउँछन् ।

‘मेरा बाल्यकालका कैयन् अविस्मरणीय पलहरू यसै क्षेत्र वरपर बितेका छन्,’ केसी भन्छन्, ‘चाडपर्वलगायत थुप्रै सामाजिक कार्यक्रमहरूमा हामी धेरै सहयोग पाउने आसाले नखिपोट, कुसुन्ती र थसीखेलजस्ता ठाउँहरूमा जान्थ्यौँ । म यहीँको एक किसानको नाति, शिक्षक बुबा र गृहिणी आमाको छोरा हुँ । त्यसैले, मैले यहाँका समस्या र आवश्कयतालाई नजिकबाट बुझेको छु ।’

धापाखेलको जुगल स्कुलबाट एसएलसी गरेपछि उनले ओमेगा इन्टरनेशनलबाट टेन प्लस टु र ब्रिटिस कलेजबाट बिआइटी गरेका हुन् ।

कलेज पढ्ने विद्यार्थी हुँदै सामाजिक र राजनीतिक गतिविधिमा सरिक भएका केसीले ललितपुरमा भएका विभिन्‍न समाजिक/प्रशासनिक सुधारका आन्दोलनको नेतृत्व पनि गरेका थिए भने राष्ट्रिय स्वरूपका आन्दोलनमा ललितपुरको नेतृत्व पनि गरेका थिए ।

‘बालापनदेखि अहिले युवावस्थासम्म आइपुग्दा यो क्षेत्रको नशानशा छामेको र बुझेको मलाई महसुस हुन्छ,’ केसी भन्छन्, ‘त्यसैले, साँच्चिकै यो क्षेत्रका समस्या समाधान र विकासका कदमक लागि मैले केही गर्नुपर्छ भन्‍ने महसुस भएर नै मैले ललितपुरको प्रतिनिधित्व गर्ने निधो गरेको हुँ ।

‘ललितपुरका आजसम्मका प्रतिनिधिहरू जनताभन्दा अलग्गै हुने प्रवृत्ति देखिएको छ,’ केसी भन्छन्, ‘हाम्रो निर्वाचन क्षेत्रमा जनताले जनतासँगै हुने र जनताका समस्या तथा आवश्यकतालाई सक्षमताका साथ सरकारसम्म पुर्‍याउने नेतृत्व खोजेको हो । म जनतासँगै रहेर यो काम गर्नका लागि अघि सरेको हुँ ।’

ललिपुरले परिपक्‍व र सक्षम नेतृत्व खोजेको र आफ्नो उम्मेद‍वारी यसैका लागि भएको उनको दाबी छ । ललितपुरमा भएका सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न भूमिका खेल्ने उनी बताउँछन् ।

‘म जनतासँगै बस्छु र जनताकै आवाज उठाइरहन्छु,’ केसी भन्छन्, ‘नेता र जनता अलग हुने अहिलेसम्मको परम्परा तोड्नु नै मेरो उद्देश्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *