विश्वप्रकाश शर्माको सवालजवाफ: विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन (भिडियोसहित)
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडाैंको भृकुटी मण्डपमा गर्ने गरी पार्टीका महाधिवेशन प्रतिनिधि साथीहरूले पत्रकार सम्मेलनमार्फत आह्वान गरिसक्नु भएको छ । उहाँहरूको आह्वानलगत्तै हामी दुवै महामन्त्रीले पनि यसमा सहभागिता जनाउने घोषणा गरिसकेका छौँ । यस बारेमा पार्टीका साथीहरूको, पत्रकार साथीहरूको र अन्य सबैको जिज्ञासाहरूलाई पाँचवटा प्रश्नमा हल गर्ने म प्रयास गर्नेछु ।
नेपाली कांग्रेस पार्टीको पहिलो विशेष महाधिवेशनले पार्टीलाई त्यो समयको सही मार्गमा अघि बढ्न, दूरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विषेश महाधिवेशनकाे सम्मुखमा पुगिरहदा हामी राष्ट्रिय अवस्था र आन्तरिक जीवनको भिन्न परिस्थितिका बीचमा छौँ । यो संवेदनशील घडीमा हामीले पार्टीभित्रको एकतालाई मजबुत बनाउदै पार्टी पंक्तिमा नवीन आत्मविश्वास भर्नुछ । साथै, नेपाली कांग्रेस पार्टीलाई बदलिएको समयअनुरूपको दृष्टि, योजना र संकल्पका साथ नेपाली समाजको विश्वास नयाँ ढंगले जित्ने गरी अग्रसर बनाएर लिएर जानुपर्नेछ ।
अब पाँच प्रश्नमा जाऔँ-
पहिलो प्रश्न, विशेष महाधिवेशनको कारण कतै नेपाली कांग्रेस पार्टी विभाजित त हुँदैन ?
स्वदेश तथा विदेशबाट पार्टीका साथीहरूले चिन्ता व्यक्त गर्दै निरन्तर यो प्रश्न सोधिरहनु भएको छ । मैले स्पष्ट गर्दै आएको छु- विषेश महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन । यदि यस्तो हुन लागेमा हलबाट सबभन्दा पहिले विश्वप्रकाश शर्माले निस्किनेछ । त्यसबेला सबै सँगै निस्कौँला । पार्टीको विभाजनलाई रोकौँला।
दोस्रो प्रश्न, के यो वैधानिक छ?
एकदम वैधानिक छ । नेपाली कांग्रेसको विधानको धारा १७ को उपधारा २ का अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विषेश महाधिवेशन हुन्छ। विधानको धाराले भन्छ- पार्टीको ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाएर लिखित रूपमा माग दर्ता गरेमा विषेश महाधिवेशन बोलाउनुपर्छ ।
तेस्रो प्रश्न, त्यस्तो विशेष कारण के पर्यो त ?
हामी सबैलाइ थाहा छ यो भदौ २२ अगाडिको नेपाल होइन । समय, परिस्थिति, हाम्रो दायित्व, हाम्रो चुनौती सबै बदलिएको छ । बदलिएको समयलाई सामना गर्ने गरी जान र केही नयाँ संकल्प लिन विशेष महाधिवेशन आवश्यक छ ।
चौथो प्रश्न, जिल्ला-जिल्लाबाट साथीहरूले सोधिरहनु भएको छ । विशेष महाधिवेशन बोलाउने बेलामा हस्ताक्षर नगरेका साथीहरू सहभागी हुन मिल्छ कि मिल्दैन?
अवश्य मिल्छ । विशेष महाधिवेशन हस्ताक्षर गर्ने र नगर्नेको सबैको हो। विशेष महाधिवेशनको उद्घाटन समारोहमा पार्टीको सबै तहका साथीहरूले हजारौँको संख्यामा सहभागी हुन मिल्छ । आउनुस्, सबैलाई स्वागत छ।
पाँचौ प्रश्न, विशेष महाधिवेशन तर्फ लागेपछि माघ ६ गते हुने उम्मेदवारी दर्ता र फागुन २१ गते हुने आम निर्वाचनलाई असर त गर्दैन?
साथीहरूको पाँचौँ जिज्ञासालाई म स्पष्ट गर्न चाहन्छु । मुर्झाएर बसेको कांग्रेसभन्दा जुरुमुरिएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम ल्याउनेछ। त्यसैले, विशेष महाधिवेशनमा जुटौँ । सबै एक भएर यसलाई भव्यतापूर्वक सफल बनाऔँ । नविन संकल्प गरौँ, नविन जागरण पैदा गरौँ । माघ ६ गते उम्मेदवारी दर्ता गर्न पनि सबै सँगै जुटेर जाउँला । फागुन २१ को निर्वाचन पनि सबै मिलेर सामना गरौँला । फेरि पनि दोहोऱ्याउँछु । पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, पार्टीको विधानको रक्षा गर्नु हो। पार्टीका सबै आदरणीय साथीहरू यसमा स्पष्ट बन्नुभए हुन्छ। अन्त्यमा विशेष महाधिवेशनको तयारीमा जुटिरहनुभएका, महाधिवेशनमा भाग लिन स्वदेश तथा विदेशबाट आइरहनुभएका सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु- प्रश्न या असहमति बेजोडले राख्नुस्, तर आफूसँग असहमत हुनेसँग पनि सौहार्द हुनुहोस्। हेक्का राखौ, ठुलो स्वर बम विष्फोटक हुन्छ। विचारको प्रष्फुटन हुनुपर्छ। विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि हो। बदल्नुपर्ने देशका लागि हो।
भिडियो:
