`

भारत र न्यूजिल्यान्डको पहिलो एकदिवसीय खेल : भारतले टस जितेर बलिङ रोज्यो

Nepal One HD २७ पुष २०८२ १४:०८
खेलकुद

भारत र न्यूजिल्यान्डबीचको तीन खेलको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। 

आगामी टी–२० विश्वकप नजिकिँदै गर्दा पनि आगामी एक साताको ध्यान भने एकदिवसीय क्रिकेटमै केन्द्रित हुनेछ। विशेषगरी विराट कोहली र रोहित शर्मामाथि सबैको नजर रहनेछ। दुवै अनुभवी ब्याटरले हालै विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै रनको वर्षा गरेका थिए। 

कप्तान शुभमन गिलको पनि यो श्रृंखलामा विशेष परीक्षा हुनेछ। टी–२० विश्वकप टोलीमा नपरेपछि उनको प्रदर्शनमाथि प्रश्न उठिरहेको छ।  दक्षिण अफ्रिकाविरुद्ध चोटका कारण सीमित खेल खेलेका गिलले यो अवसरलाई सदुपयोग गर्नुपर्नेछ। 

गिलको उपस्थितिले देब्रे हाते ओपनर यशस्वी जायसवाललाई शीर्षक्रमबाट बाहिर राखिएको छ । यद्यपि जायसवालले अघिल्लो श्रृंखलामा अष्ट्रेलिया विरुद्ध आफ्नो क्रिकेट करिअरको पहिलो एकदिवसीय शतक बनाएका थिए।

यो खेल नयाँ बारोडा क्रिकेट एसोसिएसन स्टेडियम कोटाम्बीमा आयोजना भइरहेको छ ।

न्यूजिल्यान्ड टोली भने केही प्रमुख खेलाडी बिना नै भारत आएको छ। मिचेल सान्टनर चोटका कारण बाहिर छन् भने टम लेथम पारिवारिक कारणले अनुपस्थित छन्। केन विलियम्सन SA20 लिगमा व्यस्त छन्। टोलीको कप्तानी माइकल ब्रेसेवेलले गर्नेछन्।

 न्यूजिल्यान्डका लागि काइल जेमिसन, आदित्य अशोकसँगै डेभोन कोनवे, ड्यारिल मिचेल, हेन्री निकोल्स, विल यङ र ग्लेन फिलिप्सजस्ता ब्याटरहरूमा आशा रहनेछ।

दुवै टोलीको अन्तिम-११ 

भारत: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस ऐर, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, कुलदीप यादव, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज, हर्षित राणा।

न्यूजिल्यान्ड: माइकल ब्रेसेवेल (कप्तान), डेभोन कोनवे , मिचेल हे (विकेटकिपर), हेन्री निकोल्स, विल योङ, ज्याकरी फौल्क्स , ड्यारिल मिचेल, ग्लेन फिलिप्स, आदित्य अशोक, क्रिस्टियन क्लार्क, काइल जेमिसन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *