`

रन्जु दर्शनाले समानुपातिकबाट नाम फिर्ता लिइन्, काठमाडौं-१मा उम्मेदवारी दिने तयारी

Nepal One HD २८ पुष २०८२ १९:०८
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रन्जु दर्शनाले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको थियो । दर्शनाले वारेशमार्फत नाम फिर्ताका लागि निवेदन दिएकी हुन् ।

यसअघि पुस १४ गते पार्टीले बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा दर्शनाको नाम खसआर्य महिलामा समावेश थियो । समानुपातिक उम्मेद्वारका लागि रास्वपाले गरेको निर्वाचनमा उनले खसआर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी थिइन् ।

तर, काठमाडौं-१बाट उम्मेद्वार बन्ने सम्भावनामा छलफल भएपछि उनले समानुपातिकबाट नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएकी हुन् ।

नयाँ संविधान जारी भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । २१ वर्षमै देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर बन्ने साहस गरेकी उनले त्यसबेला प्रशंसा मात्रै बटुलेकी थिइनन्, राम्रो मत पनि प्राप्त गरेकी थिइन् । पुराना दलहरूको दबदबा रहेको समयमा भर्खरै उदाउँदै गरेको र युवाहरूको वर्चश्व रहेको विवेकशील नेपालीबाट उम्मेद्वारी दिएको रञ्जुले २३ हजार मत ल्याएर तेस्रो भएकी थिइन् ।

यसबेला रञ्जुको उम्मेद्वारी र उनले ल्याएको मतले नेपालमा वैकल्पिक राजनीति सम्भव छ र पुराना दलहरूको वर्चश्व तोड्न सकिन्छ भन्ने देखाएको थियो । यो निर्वाचनमा उनको उम्मेदवारीले नेपालमा वैकल्पिक राजनीतिको ब्रान्डिङ गरेको थियो । जसले २०७९को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयर बन्न सफल बालेन शाहका लागि जग बनाएको थियो ।

उनले उज्जवल थापाले सुरू गरेको विवेकशील अभियानमा सुरू देखि नै जोडिएकी र विवेकशील नेपालीले गरिरहेको वैकल्पिक राजनीतिलाई आम मानिसमा लैजान प्रमुख भूमिका खेलेकी थिइन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं-५ बाट उम्मेद्वार बनेकी थिइन् ।

पछिल्लो समय उनी विवेकशील साझा पार्टीको महासचिवका रुपमा कार्यरत थिइन् । जेजनी विद्रोहपछि वैकल्पिक शक्तिहरूबीच एकता हुने क्रममा रास्वपा र विवेकशील साझा बीच एकताका लागि गठन गरिएको संवाद समितिमा पनि दर्शना थिइन् । रास्वपा र विवेकशील साझाबीच एकता भएपछि उनी रास्वपाको केन्द्रीय सदस्य बनेकी छिन् ।

समानुपातिक सूचीबाट नाम फिर्ता लिएपछि काठमाडौं-१मा प्रत्यक्षर्तफ उम्मेद्वारी दिनका लागि उनले छलफल थालेकी छिन् । यसमा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थन रहेको तथा पार्टी सभापति रवि लामिछाने सकारात्मक रहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *