राष्ट्रिय लिग फुटबल : जावलाखेल युथ क्लबलाई पराजित गर्दै लालीगुराँस विजयी
काठमाडौँ – राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पोखराको लालीगुराँस क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
लालीगुराँसका लागि राज भुसालले निर्णायक गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गोल गर्दै आफनो टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लालीगुराँसले शीर्ष तीन अङक बटुलेको छ । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा सातदोबाटोे युथ क्लब र संकटा एफसीसँगबीचको खेल गोलरहित बराबरी सकिएको छ ।
अखिल नेपाल फुटबल सङघ (एन्फा)को आयोजनामा हिजो बुधबारदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न १७ टोलीको सहभागिता रहेको छ ।
