बालअधिकारदेखि संसद्को टिकटसम्म : सोनी भट्टराईको सामाजिक र राजनीतिक यात्रा
काठमाडौं । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय सोनी भट्टराई सामाजिक अभियन्ता मात्र होइनन्, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै गएकी छन् ।
काठमाडौँ महानगरपालिकाको बालअधिकार समितिमा विज्ञ सदस्यका रूपमा काम गरेकी उनी नेतृत्वको टोलीले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना डेढ वर्षअघि चर्चित बन्यो ।
यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो । उनले बालअधिकार उल्लङ्घनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन् ।
राजनीतिशास्त्र अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन् ।
राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उनले युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कामकारबाही र नागरिक अधिकारबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएकी छन् ।यस कार्यक्रमलाई युवा नेतृत्व विकासको प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ ।
भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन् । उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा– १ को उम्मेदवारका रूपमा मैदानमा उत्रिदैछिन् ।
जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनले नागरिक अधिकार, बालअधिकार र युवाको राजनीतिक सहभागितालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छन् । उनले समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा स्पष्ट धारणा राख्दै आएकी छन् ।
गोरखाको नारेश्वर घर भएकी भट्टराईलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)निकट व्यक्तिका रूपमा पनि चिनिन्छ ।
पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ ।
बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाइरहेकी सोनी भट्टराईलाई धेरैले नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ ।
सामाजिक अभियन्ताबाट राजनीतिक यात्रासम्मको उनको निरन्तरताले रास्वपामा नयाँ सोच र पुस्तागत परिवर्तनको प्रयास गरेको देखSसकिन्छ ।
