खल्तीका सहसंस्थापक अरविन्द साहले गराए बारामा उम्मेदवारी दर्ता
काठमाडौं । डिजिटल वालेट कम्पनी खल्तीका सहसंस्थापक अरविन्द साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बारा निर्वाचन क्षेत्र-३ का उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा उनले मनोनयन दर्ता गराएका हुन्। उम्मेद्वारी दर्तापछि साहले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
उनले आफू गाउँको सरकारी विद्यालयमा पढेर हुर्किएको र किसान परिवारको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै ग्रामीण क्षेत्रका नागरिकले भोग्दै आएको अवसरको अभाव र राज्यको कमजोर उपस्थितिलाई नजिकबाट अनुभूत गरेको बताए। यही अनुभवका आधारमा प्रविधिलाई रोजगारी, सेवा प्रवाह र आर्थिक विकाससँग जोड्ने एजेन्डा संसदमा उठाउने उनको भनाइ थियो।
साहले परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताले अब वाचा होइन, नतिजा खोजिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासन आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको स्पष्ट पारे।
मनोनयन दर्ता कार्यक्रममा बोल्ने वक्ताहरूले खल्तीका सह–संस्थापक अरविन्द साहजस्ता नतिजामुखी सोच, व्यवस्थापन क्षमता र आधुनिक दृष्टिकोण बोकेका उम्मेदवारको उपस्थितिले बारा–३ मा वैकल्पिक राजनीतिलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
