अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
न्युयोर्क – अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् ।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।
उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ ।
आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ । मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।
