कुलमान घिसिङ मन्दिर दर्शन र मतदाता–कार्यकर्ता भेटघाटमा (भिडियोसहित)
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङसहितका उम्मेदवारहरू मन्दिर दर्शनमा निस्किएका छन् ।
बिहीबार बिहान उनीहरूले काठमाडौं उपत्यकाका गणेश मन्दिर, तलेजु मन्दिर र कुमारी मन्दिरको दर्शन गरे । त्यसपछि नरदेवी र वसन्तपुरमा मतदाता र कार्यकर्ताहरूसँग भेटघाट गरे ।
घिसिङ उनेपाबाट काठमाडौं–३ मा उम्मेदवार छन् । उनी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा देशमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो ।
उनै घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्यको जस जाने गरेको छ । गत वैशाख–जेठतिर उनले उज्यालो नेपाल अभियान सञ्चालन गरेका थिए ।
त्यसपछि उनी जेन–जी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा तीन महिना बढी ऊर्जा, भौतिक र सहरी विकासमन्त्री भए ।
निर्वाचन लड्ने सुर गरेपछि उनलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिएर अलग हुन निर्देशन दिएकी थिइन् । निर्देशनअनुसार राजीनामा दिएका उनी उनेपाको अध्यक्ष हुँदै यतिबेला काठमाडौं–३ मा उम्मेदवार छन् ।
देशव्यापी चुनावी माहोल सिर्जना गर्न नसकेका उनले बिहीबार भने मन्दिर दर्शन र मतदातासँगै कार्यकर्तासँग भेटघाट गरेका हुन् ।
