दोहोरो अंकले नेप्से परिसूचक घट्यो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१३.०५ विन्दुमा अडिएको हो । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ५.३८ अंकले बढेको थियो ।
यसदिन कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३२० वटा स्क्रिप्सको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भए ।
बुधबार ११ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक दोहोरो अंकले घट्दा बिहीबार कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।
हिमालयन दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ९.२३ प्रतिशतले बढ्यो ।
तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंक, मैथिली लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले ओरालो लाग्यो ।
कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो । बाँकी ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।
तीनवटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् ।
हाइड्रोपावर, इन्भेस्टमेन्ट र म्युचुअल फण्ड समूहको उपसूचक सकारात्मक देखिँदा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।
