`

विश्वकपअघि नेपाल उच्च लयमा: आशिफको अर्धशतकमा क्यानडाविरुद्ध ६ विकेटले विजयी 

Nepal One HD २२ माघ २०८२ १६:४५
खेलकुद

काठमाडौं। टी-२० विश्वकपकाे दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेकाे छ । भारतको चेन्नाइस्थित चिदबरम रंगशालामा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८ ओभरमा पुरा गर्‍यो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक पुरा गर्दै सर्वाधिक ५८ रनको योगदान गरे भने सन्दीप जोराले ४४ रन जोडे । गुल्सन झाले अविजित ३१ रन बनाए भने कुशल भुर्तेलले १२, दिपेन्द्र सिंह ऐरीले ९ र लोकेश बमले ५ रन जोडे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्याले अविजित रहादै सर्वाधिक ३८ रन जोडेका थिए । 

पहिलो इनिङमा नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिएका थिए । 

भारत र श्रीलंकामा हुने टी-२० विश्वकपअघि नेपाल उच्च लयमा देखिएको छ । यसअघि पहिलो वार्मअपमा नेपालले युएइलाई पराजित गरेको थियो । 

विश्वकपमा नेपालको खेल आइतबार सुरू हुने छ । नेपालले आफ्नो पहिलो खेलमा आइतबार क्रिकेटको महाशक्ति इंग्ल्याण्डको सामना गर्ने छ ।  नेपालको समूहमा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहेका छन् । नेपालका सबै खेलहरू मुम्बइको वांखडे रंगशालामा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *