`

दैलेखमा ग्यास उत्खनन् गर्यौं, अब घर घरमा पुर्याउछौं : ओली

Nepal One HD २२ माघ २०८२ १८:५६
नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारमा आएपछि घर-घरमा ग्यास पुर्‍याउने योजना पूरा गरिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक सामग्री सार्वजनिक गर्दै अध्यक्ष ओलीले विकासका लागि सपना देख्नुपर्ने र त्यसलाई साकार पार्न योजनाबद्ध रूपमा कार्यान्वयनमा जानुपर्ने धारणा राखेका हुन्।

उनले आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा देश नाकाबन्दीको चपेटामा परेको स्मरण गर्दै त्यसबेला खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको चरम अभाव रहेको उल्लेख गरेका छन्। नाकाबन्दीका कारण नेपालीको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले आफूले स्वदेशमै ग्यास उत्खनन गरी पाइपमार्फत भान्सासम्म ग्यास पुर्‍याउने अवधारणा अघि सारेको ओलीको भनाइ छ।

ओलीका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गरी उत्खनन प्रक्रिया अघि बढाइएको थियो। अध्ययनका क्रममा करिब १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको र नमूना परीक्षण समेत सफल भएको उनले बताएका छन्।

उनले गत मंसिरमै व्यवसायिक उत्पादनको योजनासहित काम अघि बढाइएको भए पनि भदौमै सरकारबाट बाहिरिनु परेपछि उक्त प्रक्रिया अगाडि बढ्न नसकेको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले एमाले पुनः सरकारमा आएपछि स्वदेशमै उत्पादन गरिएको ग्यास प्रयोग गर्ने सपना पूरा गरिने दाबी गरेका छन्। ‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने योजना कार्यान्वयनमा लैजान्छौं,’ उनले फेसबुकमा लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *