इङ्गल्याण्डसँग भीड्न नेपाल तयार, कस्तो रहला रणनीति?
१९९६ मा पहिलो अन्तराष्ट्रिय क्रिकेट म्याच खेलेको नेपाल आफ्नो क्रिकेट इतिहासमा तेस्रोपल्ट सिनियर टोलीको विश्वकप खेल्दैछ। यसअघि २०१४ मा बंगलादेशमा आयोजना भएको पहिलो टि-२० विश्वकप खेलेको नेपालले दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन १० वर्ष पर्खिनुपर्यो। यसअघि नेपालले अघिल्लोपटक अमेरिका र क्यारेबियनमा भएको २०२४ को विश्वकप खेलेको थियो।
क्रिकेटमा तिन फरक प्रकारका विश्वकप हुन्छन्। विश्व टेष्ट च्याम्पियनसिप, एकदिवसीय विश्वकप र टि-२० विश्वकप। तिनमध्ये नेपालले अहिलेसम्म खेलेको र खेल्नलागेको विश्वकप टि-२० विश्वकप मात्रै हो। टि-२० क्रिकेट विश्वपक हुने सबैभन्दा छोटो फर्म्याट हो।
२०२४ को विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै जित निकाल्न सकेन। अमेरिकामा निकटम प्रतिद्वन्द्वी मानिने नेदरल्याण्डसँग पराजित भएको नेपाल क्यारेबियनमा दुई ठुला ‘टेष्ट प्लेइङ नेसन’ साउथ अफ्रिका र बंगलादेशसँग झिनो अन्तरले पराजित भयो। अनुभवको कमी र धैर्यताको अभावबीच विश्वकपमा टेष्ट टिमलाई पराजित गर्ने अवसरबाट नेपाल त्यतिबेला चुक्यो। २०२४ को विश्वकपमा नेपाल साउथ अफ्रिकासँग १ रनले पराजित भएको थियो भने बंगलादेशसँग २१ रनले पराजित भएको थियो।
कुनै पनि क्रिकेट प्लेइङ नेसन ‘टेष्ट मान्यता प्राप्त नेसन’ बन्नलाई विश्वकपमा अर्को ‘टेष्ट प्लेइङ नेसन’ लाइ पराजित गर्नुपर्ने ‘इन्टरनेसनल क्रिकेट काउन्सिल’(आईसीसी) को प्रावधान छ। नेपालले २०२४ को विश्वकपमा आईसीसीको उक्त प्रावधान पुरा गर्दै टेष्ट मान्यताप्राप्त राष्ट्र बन्ने अर्को खुड्किलो पार गर्नसक्थ्यो। तर साउथ अफ्रिकाले दिएको ११५ र बंगलादेशले दिएको १०७ रनको लक्ष्य भेटाउन नसक्दा नेपाल मन रित्तो बनाएर घर फर्कियो।
२०१४ को विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाइ पराजित गरेको थियो। बंगलादेशसँग पराजित भएको नेपाल रनरेटमा पछाडि पर्दा त्यो बेला पनि सुपर-८ मा पुग्नबाट बंचित भएको थियो। रोचक पक्ष के भने २०१४ को विश्वकपमा नेपालले अफगानिस्तानलाइ पराजित गर्दा अफगानिस्तान पनि एसोसियट राष्ट्रको सूचीमा थियो। तर २०१७ मा अफगानिस्तानले टेष्ट नेसनको मान्यता पाउदा नेपाल एकदिवसीय अन्तराष्ट्रिय खेल्ने देशको मान्यताका लागि लडिरहेको थियो। पछि २०१८ मा नेपालले ओडीआई खेल्ने राष्ट्रको मान्यता पायो।
यो बिचमा नेपाली क्रिकेट ठुलो अन्तरसंघर्षबाट गुज्रियो। क्यानभित्रको अनियमितता र गुटबन्दीका कारण बिचमा क्यान निलम्बनमा पर्यो। जसले नेपाली क्रिकेट करीब २ वर्षसम्म अभिभावकविहीन अवस्थामा रहन पुग्यो। २०१८ मै ओडीआई स्टाटस पाएको नेपालले त्यसपछि पनि विश्वकप खेल्न अझै ६ वर्ष कुर्नुपर्यो। ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुगेको नेपालले ओडीआई विश्वकप भने अझै खेलिसकेको छैन।
आज नेपालले तेस्रोपटक विश्वकपमा विश्व क्रिकेटको हब मानिने ईङ्ग्ल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ। १६ औ शाताब्दीमा ईङ्ग्ल्याण्डका केन्ट र ससेक्स सिटीबाट क्रिकेट खेलको सुरुवात भएको थियो। त्यही ईङ्ग्ल्याण्डसँग नेपालले पहिलोपल्ट खेल्दैछ।
ईङ्ग्ल्याण्ड एकपटकको टि-२० विश्वकप विजेता हो। उसले २०२२ को विश्वकप जितेको थियो। विश्व क्रिकेटको महारथी मानिने ईङ्ग्ल्याण्डसँग नेपालले खेल्ने भएपछी यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साहित देखिन्छन्। जोस बटलर, ह्यारी ब्रुक, जोफ्रा आर्चर, फिल साल्ट जस्ता विश्वविख्यात खेलाडी रहेको ईङ्ग्ल्याण्डसँग नेपालले कस्तो प्रदर्शन गर्ला?- चासोको विषय बनिरहेको छ।
अझ नेपालका बलरहरुका विरुद्ध जोस बटलर र फिल साल्ट जब ब्याटिङ गर्न सँगै आउनेछन्, नेपाली बलरहरुका लागि अग्नीपरिक्षा सुरु भएजस्तै हुनेछ। अझ रोचक त त्यतिबेला देखिनेछ जब जोफ्रा आर्चरले नेपाली ब्याटरहरुलाई बलिङ गर्नेछन्। आर्चर ती विश्वविख्यात बलर हुन्, जो १४०-१५० को एभरेज गति र त्यो गतिसँगै फाल्ने तिखो बाउन्सरको लागि चिरपरिचित छन्। समकालीन विश्व क्रिकेटमा तिखो बाउन्सरसहितको बलिङका लागि आर्चर निकै प्रख्यात बलर मानिन्छन्।
नेपालले ईङ्ग्ल्याण्डलाइ पराजित गर्ने पहिलो लक्ष्य राखेको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले यसअघि नै एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए। ईङ्ग्ल्याण्डको टोलीको नेतृत्व भने यसपटक ह्यारी ब्रुकले गरेका छन्।
नेपाल र ईङ्ग्ल्याण्डबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय ३ बजेर १५ मिनेटमा सुरु हुदैछ। ३३ हजार दर्शक क्षमता रहेको वानखेडे स्टेडियमको नेपाल र ईङ्ग्ल्याण्ड बिचको खेलको टिकट भने यसअघि नै सोल्ड आउट भइसकेको छ।
ईङ्ग्ल्याण्डले नेपालसँग खेल्ने अन्तिम-११ यसअघि नै घोषणा गरिसकेको छ। उसले ह्यारी ब्रुकको नेतृत्वमा जोस बटलर(विकेटकिपर ब्याटर), फिल साल्ट, ज्याकब बेथल, टम ब्यान्टन,सम कुरान, विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर, आदील रसिद, लुके वुडलाई आफ्नो अन्तिम ११ मा मौका दिएको छ। नेपालको अन्तिम-११ भने घोषणा हुन बाकि छ।
विश्वकपको पहिलोचरण अन्तर्गत चार समुहमा रहेका २० वटा टोलीले एकआपसमा प्रतिष्पर्धा गरिरहेका छन्। चारवटा समुहबाट शिर्ष-२ मा रहने आठवटा टोली विश्वकपको सुपर-८ मा प्रवेश गर्नेछन्। नेपाल ग्रुप ‘सी’ मा छ। ग्रुप ‘सी’ बाट सुपर-८ मा पुग्नलाई नेपालले कम्तिमा तिन टोलीलाई पराजित गर्नुपर्नेछ।
ग्रुप ‘सी’ अन्तर्गत नेपालका यसपछिका खेल इटाली, वेष्ट इन्डिज र स्कटल्याण्डसँग हुनेछन्।
