`

पोर्चुगलमा राष्ट्रपतीय चुनावको दोस्रो चरण

Nepal One HD २५ माघ २०८२ १८:१६
विश्व

लिस्बन । पोर्चुगलमा आइतबार राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । यो निर्वाचन रन–अफ चरणमा प्रवेश गरेको हो ।

निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेद्वार र समाजवादी उम्मेद्वारबीच प्रतिस्पर्धा भइरहेको छ । यही समयमा देश भने हालैका घातक आँधीबेहरीका कारण गम्भीर रूपमा प्रभावित बनेको छ ।

स्पष्ट भनाइका लागि चिनिने अति–दक्षिणपन्थी नेता आन्द्रे भेन्टुरालाई समाजवादी उम्मेद्वार एन्टोनियो जोस सेगुरोले पराजित गर्ने सम्भावना प्रबल देखिएको छ । अति–दक्षिणपन्थी उम्मेद्वारको हार लगभग निश्चित देखिए पनि उहाँले कति प्रतिशत मत प्राप्त गर्नुहुन्छ भन्ने तथ्यलाई वर्षको सुरुदेखि एट्लान्टिक क्षेत्रमा आएको भीषण आँधीहरूको पछिल्लो प्रभावजस्तै महत्त्वपूर्ण सूचकका रूपमा नजिकबाट हेरिनेछ ।

देशभरका मतदान केन्द्रहरू बिहान ८ः०० बजे (०८०० जिएमटी) खुलेका छन् । स्वदेश तथा विदेशमा रहेका गरी करिब एक करोड १० लाख मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । पहिलो एक्जिट पोलको नतिजा साँझ ८ः०० बजेतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

शनिबारदेखि आइतबारसम्म रातभर मौसममा क्रमशः सुधार देखिए पनि सबैभन्दा बढी प्रभावित कम्तीमा १४ वटा निर्वाचन क्षेत्रमा भने करिब ३२ हजार मतदाताका लागि मतदान प्रक्रिया एक सातासम्म स्थगित गरिएको छ ।

यस आँधीबेहरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसले व्यापक बाढी निम्त्याउनुका साथै अनुमानित चार अर्ब यूरो, अर्थात् करिब चार अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

यद्यपि, सम्पूर्ण मतदान प्रक्रिया नै स्थगित गर्नुपर्ने भेन्टुराको आग्रहलाई सम्बन्धित निकायले अस्वीकार गरेको छ । भेन्टुरा हाल ६३ वर्षीय सेगुरोभन्दा पछि देखिनुभएको छ । सेगुरोलाई एक अनुभवी र कुशल राजनीतिक व्यक्तित्वका रूपमा लिइन्छ । बुधबार सार्वजनिक गरिएको एक जनमत सर्वेक्षणअनुसार समाजवादी उम्मेद्वार सेगुरोले ६७ प्रतिशत समर्थन प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले हालको आँधीबेहरीले देशमा ‘विनाशकारी सङ्कट’ सिर्जना गरेको स्वीकार गर्दै त्यसका बाबजुद पनि मतदान प्रक्रिया सुरक्षित रूपमा सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि, पाँच वर्षअघि सम्पन्न भएको राष्ट्रपतीय निर्वाचन पनि कोरोनाभाइरस महामारीका कठिन परिस्थितिका बीच अघि बढाइएको थियो । पदबाट बिदा हुँदै गरेका राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले शुक्रबार भेन्टुरासँगको भेटमा उक्त अनुभवको स्मरण गराउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *