`

बुढासुब्बा गोल्डकप : आयोजक धरानलाई हराउँदै लालीगुराँस फुटबल क्लब सेमिफाइनलमा

Nepal One HD २६ माघ २०८२ २१:५७
खेलकुद

धरान (सुनसरी), २६ माघ : धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुराँस फुटबल क्लब, पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ ।आज धरान रङ्गशालामा सम्पन्न खेलमा लालीगुराँस फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा अतिरिक्त १५ मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

लालीगुराँसका राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्न सफल भए । धरान फुटबल क्लबका विवेक राई, सविन राई, प्रज्ज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालीगुरासका गोलरक्षक कुम्भ देउवाले रोके ।

आजको खेलमा लालीगुराँसका खेलाडी कुम्भ देउवाले ‘म्यानअफ द म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मङ्गलबार झापा–११, झापा र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । दश टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यानअफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *