नेपाल र इटलीलाई अघिल्लो चरण प्रवेश गर्न आजको खेल निर्णायक
काठमाडौं– जारी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज हुने नेपाल र इटलीबीचको खेल दुवै टोलीका लागि निर्णायक बनेको छ ।
अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रने दुवै टोलीका लागि यो खेल ‘गर या मर’को अवस्थामा परिणत भएको हो ।
विशेषगरी पहिलो खेलमा फराकिलो हार बेहोरेको इटली दबाबमा छ भने नेपालका लागि पनि सम्भावना जीवित राख्न जित अनिवार्यजस्तै बनेको छ ।
इटलीले सन् १९८४ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एफिलियट सदस्यता प्राप्त गरेको थियो । सन् १९९५ मा एसोसिएट सदस्य बनेको इटलीले पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८९ मा डेनमार्कविरुद्ध खेलेको थियो ।
टी-२० अन्तर्राष्ट्रियको यात्रा भने २०१९ मा जर्मनीविरुद्ध सुरु गरेको हो । हालसम्म इटलीले ४० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, र नेपाल उसका लागि १९औं टी-२० अन्तर्राष्ट्रिय प्रतिद्वन्दी बन्नेछ ।
यस विश्वकपका लागि आयोजित युरोपेली छनोटमा इटलीले स्कटल्याण्डलाई १२ रनले हराउँदै सबैलाई चकित पारेको थियो । उक्त हारसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको थियो ।
यद्यपि, बंगलादेशले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्याण्डले पुनः अवसर पाएको थियो ।
विश्वकपअघि इटलीले आयरल्याण्ड र नामीबियामाथि जित निकाल्दै सकारात्मक संकेत दिएको थियो ।
वार्मअप खेलमा क्यानडा र युएईलाई पराजित गर्दै आत्मविश्वास बढाएको इटली मुख्य प्रतियोगितामा भने लय समात्न असफल देखियो । स्कटल्याण्डसँग ७३ रनको फराकिलो हार बेहोरेपछि टोली दबाबमा छ ।
इटलीको टोलीमा अस्ट्रेलियाको बिग बास लिग (बीबीएल), दक्षिण अफ्रिकाको राष्ट्रिय संरचना, इंग्ल्याण्डको काउन्टी क्रिकेटलगायत विभिन्न फ्रेन्चाइजी प्रतियोगितामा अनुभव बटुलेका खेलाडी समावेश छन् ।
अनुभवका आधारमा टोली सशक्त देखिए पनि धेरै खेलाडी एकसाथ कमै खेल्ने गरेका कारण समन्वयमा चुनौती देखिने सम्भावना छ ।
नेपालका लागि अवसर
नेपालका लागि यो खेल अवसर र चुनौती दुवै हो । अनुभवी खेलाडीले भरिएको इटलीविरुद्ध संयमित, योजनाबद्ध र अनुशासित प्रदर्शन गर्न सके नेपाल अघिल्लो चरणतर्फ महत्वपूर्ण कदम चाल्न सफल हुनेछ ।
बलिङमा प्रारम्भिक सफलता र ब्याटिङमा साझेदारी निर्माण नै नेपालको जितको आधार बन्न सक्छ ।
